परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटनका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताए ।
‘हाम्रा जनतालाई जोड्न हामीले जमिन र आकाश दुवै मार्गको प्रयोग गर्नुपर्छ। यस बिन्दुमा, हामी ‘खुला सिमाना तर बन्द आकाश’को अवस्थाबाट बाहिर निस्कन आवश्यक छ,’ उनले भने ।
मन्त्री खनालले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको महत्त्वपूर्ण स्रोत रहेको उल्लेख गरे । उनका अनुसार भारतसँगको द्विपक्षीय व्यापार नेपालको कुल वैदेशिक व्यापारको झन्डै दुई तिहाइ छ भने नेपालको ८० प्रतिशतभन्दा बढी वस्तु निर्यात भारततर्फ हुने गरेको छ ।
उनले नेपाल–भारत आर्थिक सम्बन्धलाई अझ उत्पादक, विविधीकृत र उच्च मूल्य सिर्जना गर्न सक्ने बनाउनुपर्ने बताए । यसका लागि नेपालले उत्पादन क्षमता विस्तार, रोजगारी सिर्जना, गुणस्तरीय लगानी आकर्षित र निर्यात विविधीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
‘भारत लगानीको प्रमुख स्रोत, मुख्य पारवहन साझेदार र नेपालको बिजुलीका लागि झन्झन् महत्त्वपूर्ण बजारका रूपमा पनि रहेको छ,’ उनले भने ।
मन्त्री खनालले व्यापार सहजीकरण, लगानी तथा औद्योगिक सहकार्य, ऊर्जा, डिजिटल रूपान्तरण र पर्यटनलाई नेपाल–भारत आर्थिक सहकार्यका प्रमुख क्षेत्रका रूपमा प्रस्तुत गरे । उनले सीमापार विद्युत् व्यापारले दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ सम्भावना खोलेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा थप लगानी र प्रसारण पूर्वाधार विस्तार आवश्यक रहेको बताए ।
डिजिटल अर्थतन्त्रमा सहकार्यको सम्भावना औँल्याउँदै उनले नेपाल र भारतबीच भुक्तानी प्रणालीमा बढ्दो अन्तरसञ्चालनशीलताले नागरिक र व्यवसायलाई प्रत्यक्ष लाभ पुर्याउन सक्ने बताए । नेपाली युवा जनशक्तिलाई भारतको प्रविधि, पूँजी र बजारसँग जोड्नुपर्नेमा पनि उनले जोड दिए ।
उनले नेपाल–भारत आर्थिक सहकार्यलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए । निक्कीले व्यापारमा देखिएका अवरोध पहिचान गर्ने, लगानीयोग्य परियोजना अघि बढाउने र नीतिगत सुधारका लागि सरकारलाई सुझाव दिने भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो ।
‘परराष्ट्र मन्त्रालयले निक्कीलाई एक रणनीतिक संस्थागत साझेदारका रूपमा लिन्छ,’ उनले भने ।
मन्त्री खनालले साना तथा मझौला उद्यम, महिला उद्यमी र युवा व्यवसायीलाई समेत सीमापार व्यापार तथा लगानीका अवसरमा पहुँच दिलाउनुपर्ने बताए । नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा मानवीय सम्बन्धलाई उपयोग गर्दै लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिमा आधारित आधुनिक आर्थिक साझेदारी निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
