आज सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ (क्यान) ले दाबी गरेको छ।

स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने  जनाएको छ। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने  र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुने  क्यानका काेषाध्यक्ष पदम खड्काकाे दाबी छ।  साथै एनपीएल तेस्रो संस्करणको च्याम्पियन बन्ने टाेलीले १ कराेड ५० लाख पुरस्कार पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कार राशीबारे जानकारी गरायो ।

उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ।

प्रतियोगितामा ८ टीम सहभागी रहेका छन्।  आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा  साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम राेयल्स भिडनेछन्।   पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

यसैबीच प्रतियोगिताकाे उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेकाे छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार उद्घाटनका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा गरिएको बताए ।

यसका साथै प्रतियोगिताकाे सबै तयारी पूरा भएको समेत क्यानले जनाएको छ।