करिब २८ लाख वर्षअघि दक्षिण अफ्रिकाको सवानामा तीन वर्षको एउटा बालक घाँसैघाँस भएको मैदानमा खेलिरहेको थियो । उसका दाँत अझै आइसकेका थिएनन् । अस्ट्रालोपिथेकस अफ्रिकानस प्रजातिको त्यो बालकलाई आफूलाई माथिबाट कसैले नियालिरहेको थाहा थिएन । अचानक एउटा विशाल सिकारी चरा आकाशबाट झम्टियो । उसले बालकलाई पक्रियो र मार्यो ।
ती प्रारम्भिक मानव शिशुलाई कुन प्रजातिको चराले सिकार बनाएको थियो भन्ने निश्चित छैन । तर पछि ‘टाउङ चाइल्ड’ नामले चिनिएको उक्त बालकको आँखाको खोपिल्टोमुनि देखिएका प्वालहरू चीलका पञ्जाले बनाउने चोटसँग मिल्छन् । चीलले सामान्यतया यसरी नै सिकार गर्छन् । उनीहरूले सिकारको केही भाग रूखमा भण्डारण गर्छन् भने बाँकी गुँडमा लैजान्छन् ।
ढुङ्गे युगमा बाँच्नु निकै जोखिमपूर्ण थियो । त्यसबेला विशालकाय जनावरहरूको संसारमा प्रभुत्व थियो । प्रारम्भिक मानवहरू म्यामथ, मास्टोडोन, विशाल स्लोथ, तरबारजस्ता दाँत भएका बाघ र मानव बालबालिकालाई समेत सिकार गर्ने विशाल चराहरूसँगै बाँचिरहेका थिए ।
डाइनोसर लोप भएदेखि अन्तिम ठूलो हिमयुगसम्म करोडौँ वर्ष आकाशमा यस्ता विशाल चराहरूको शासन थियो । उनीहरूको प्रभुत्वले मानव विकासको दिशा गहिरोसँग प्रभावित पारेको हुन सक्छ जसलाई कमै मात्र ध्यान दिइएको छ । संसारका विभिन्न संस्कृतिमा पाइने बालबालिका चोर्ने चरासम्बन्धी किंवदन्तीमा पनि उनीहरूको प्रभाव रहेको मानिन्छ । ती चराहरू लोप भइसकेपछि पनि यस्ता कथाहरू पुस्तौँसम्म जीवित रहे ।
विशाल चराहरूको उत्पत्ति कसरी भयो ?
पंक्षी वर्गमा नपर्ने डाइनोसर पृथ्वीबाट लोप हुँदा आकाश धुलोले ढाकिएको थियो र अधिकांश वनस्पति नष्ट भएका थिए । त्यसपछि जनावरहरूका लागि खानेकुराको अभाव भयो । उपलब्ध खानेकुरामध्ये बीउ मात्रै धेरै बाँकी थियो । तर चराहरूका लागि यो अवस्था अनुकूल बन्यो ।
डाइनोसरको विनाश गर्ने क्षुद्रग्रह पृथ्वीमा ठोक्किएपछि विशाल चराहरू करोडौँ वर्षसम्म पृथ्वीका सबैभन्दा शक्तिशाली सिकारी बने । उनीहरूको सिकारमा मानव पुर्खासमेत पर्थे ।
सिकारी जनावरहरूको अभावमा जमिनमा बस्ने र चुच्चो भएका केही साना जीवित चराहरू क्रमश: विकसित हुँदै विशालकाय बने । अस्ट्रेलियामा पाइने ड्रोमोर्निथिडे प्रजातिका चरालाई ‘डेमन डक्स अफ डुम’ अर्थात् विनाशका राक्षसी हाँस भनिन्थ्यो । आधुनिक हाँसजस्तै देखिने यी चराहरू अहिलेका गाईभन्दा सय गुणा ठूला र भारी थिए ।
केही चराहरू आकाशमा उडेर समुद्रमा सिकार गर्ने विशाल सिकारी बने । अहिलेसम्म अस्तित्वमा रहेको सबैभन्दा ठूलो उड्ने चरा मानिने अमेरिकाको साउथ क्यारोलिनामा पाइने पेलेगोर्निस स्यान्डर्सीको पखेटा फैलाउँदा सात मिटर ९२४ फिट० सम्म चौडा हुन्थ्यो ।
अर्कोतर्फ, केही चराहरूले टायरानोसोरजस्ता ठूला स्थल सिकारी डाइनोसर लोप भएपछि तिनको स्थान लिए । ठूलो सिकार उपलब्ध हुँदा त्यसलाई समात्न सक्ने अझ ठूला सिकारीको विकास हुन्छ । हाम्रा पुर्खाहरूले सामना गर्नुपरेका राक्षसी चराहरू यिनै थिए ।
प्राचीन र आधुनिक प्रमाण
अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका प्राइमेट ( मानिस, बाँदर, चिम्पान्जी, गोरिल्ला, ओराङ्गुटान आदि) विशेषज्ञ स्कट म्याकग्रा भन्छन्, ‘प्राइमेटहरूको अस्तित्व रहेदेखि नै सिकारी चराहरू पनि छन् । उनीहरूले सधैँ प्राइमेटहरूलाई सिकार गर्दै आएका छन्, जसमा हामी र हाम्रा पुर्खासमेत पर्छौं ।’
हाम्रा पुर्खा र विशाल चराहरूबीचको प्राचीन संघर्षका संकेत अहिले पनि जंगलमा देख्न सकिन्छ । म्याकग्राले आइभरी कोस्टको ताइ जंगलमा अफ्रिकी क्राउनड इगललगायत सिकारी चराले मारेका ६०० भन्दा बढी आधुनिक प्राइमेटका अवशेष अध्ययन गरेका थिए । त्यस क्रममा उनले टाउङ चाइल्डको अवशेषमा देखिएका पञ्जाका निशानसँग उल्लेखनीय समानता भेटे ।
धेरै बाँदरका खप्परमा आँखाको खोपिल्टोभित्रको हड्डीमा क्षति पुगेको थियो । म्याकग्राका अनुसार चीलले आफ्नो चुच्चोले आँखा निकाल्दा वा पञ्जाले चिथोर्दा यस्तो क्षति भएको हुन सक्छ ।
उनी भन्छन्, ‘हाम्रा एक समीक्षक जीवाश्म राखिएको भण्डारमा गए । उनले टाउङ चाइल्डको अवशेष निकालेर हेर्दा त्यहाँ पनि ठ्याक्कै त्यस्तै चोट भेटे ।’
विशाल चराको सिकार बन्ने जोखिमले मानव शरीर र मस्तिष्क दुवैको विकासलाई प्रभावित पारेको मानिन्छ । दुई खुट्टामा सीधा उभिएर हिँड्ने क्षमताले हाम्रा पुर्खालाई वरपरका सिकारी सजिलै देख्न मद्दत गर्यो भने सहकार्य, परोपकार, एकअर्कामाथिको निर्भरता र सामूहिक सुरक्षा पनि उपयोगी बने ।
म्याकग्राको विश्वासमा सिकारी चराहरूले नियमित रूपमा मानव पुर्खालाई सिकार गर्थे । उनका अनुसार चराहरूबाट हुने सिकारको जोखिम प्राइमेट समूहको विकासमा सबैभन्दा महत्त्वपूर्ण प्राकृतिक छनोटका दबाबमध्ये एक हुन सक्छ ।
उनी भन्छन्, ‘विगतका वर्षमा संकलन गरिएका मानव जीवाश्मलाई अहिले अझ ध्यानपूर्वक जाँच्ने हो भने सिकारी चराले पुर्याएका थप चोट भेटिने सम्भावना छ । ताइ जंगलमा देखिएको अवस्थालाई आधार मान्ने हो भने यो सामान्य घटना थियो ।’
सिकारी चराले मानव विकासलाई कसरी प्रभावित पारे?
बेलायतको ब्राइटन विश्वविद्यालयका पुरातत्त्वविद् तथा एप्लाइड साइन्सेसका डिन जेम्स कोलका अनुसार प्रारम्भिक मानवहरू अन्य जनावरका सिकार हुन्थे भन्ने कुरामा जीवाश्म अभिलेखले पर्याप्त प्रमाण दिन्छ ।
उनी भन्छन्, ‘विशेषगरी अस्ट्रालोपिथेकस अफ्रिकानसको बच्चा जस्ता लाग्ने सुरुवाती प्रारम्भिक होमिनिनहरू सिकारीको सिकार बनेका थिए । हामी निश्चित रूपमा अन्य जनावरको आहार बनिरहेका थियौँ ।’
चरा, चितुवा, हाइनादेखि विशाल गोहीसम्मका सिकारीबाट बच्नुपर्ने बाध्यताले हाम्रा पुर्खाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन सक्छ । विशाल चराको सिकार बन्ने जोखिमले मानव शरीर र मस्तिष्क दुवैको विकासलाई प्रभावित पारेको मानिन्छ ।
उदाहरणका लागि, दुई खुट्टामा सीधा उभिएर हिँड्ने क्षमताले हाम्रा पुर्खालाई वरपरका सिकारी सजिलै देख्न मद्दत गरेको हुन सक्छ । सहकार्य, परोपकार, एकअर्कामाथिको निर्भरता र सामूहिक सुरक्षा पनि उपयोगी बने ।
कोलका अनुसार समूहको आकार निकै महत्त्वपूर्ण थियो । समूह जति ठूलो हुन्थ्यो, सुरक्षा त्यति नै बढी हुन्थ्यो । म्याकग्रा पनि सिकारी चराबाट बच्न ठूलो सामाजिक समूहमा बस्नु फाइदाजनक हुने बताउँछन् ।
सिंह वा ब्वाँसोजस्ता सिकारीले सिकारलाई लखेटेर समात्छन् । तर चीलजस्ता सिकारी चरा प्राय: लुकेर आक्रमण गर्छन् । उनीहरू रूखमा लुकेर उपयुक्त समय पर्खन्छन् । क्राउन्ड इगल पनि रूखमा लुकेर सिकारको प्रतीक्षा गर्छ ।

यसले मानवमा सामाजिक समूहमा बस्ने प्रवृत्ति विकास हुनुको एउटा कारण आकस्मिक आक्रमणबाट बच्ने आवश्यकता हुन सक्ने देखाउँछ । समूहमा धेरै मानिस हुँदा फरक–फरक दिशाबाट निगरानी गर्न सकिन्छ । यसलाई ‘मेनी आइज इफेक्ट’ अर्थात् धेरै आँखाले निगरानी गर्ने प्रभाव भनिन्छ ।
कोलका अनुसार ठूलो समूहमा बस्ने प्रवृत्तिले भाषाको विकासमा समेत योगदान गरेको हुन सक्छ । उनी भन्छन्, ‘ठूलो समूहमा मानिसहरूले फरक–फरक जिम्मेवारी लिन थाल्छन् । कसैले एउटा काम गरिरहेको हुन्छ भने अरूले अर्को काम । यसका लागि समन्वय आवश्यक पर्छ । समूहका सदस्यहरू अलग–अलग स्थानमा रहन थालेपछि उनीहरूबीचको समन्वय केवल एकअर्कालाई देखेर सम्भव हुँदैन ।’
हातको इशाराजस्ता सामान्य सञ्चारका लागि मानिसहरू एकअर्कालाई देख्न सक्ने स्थानमा हुनुपर्छ । तर टाढाबाट समन्वय गर्नुपर्ने अवस्था आउँदा, उदाहरणका लागि सिकारी नजिक आइरहेको सूचना दिनुपर्दा भाषाको भूमिका महत्त्वपूर्ण हुन्छ । म्याकग्राका अनुसार आकाशबाट हुने आक्रमणबाट बच्ने दबाबले भाषाको विकाससमेत सुरु गराएको हुन सक्छ ।
अधिकांश प्राइमेटले विभिन्न सिकारीका लागि एउटै सामान्य चेतावनी आवाज निकाल्छन् । उदाहरणका लागि, सिंह र चितुवाका लागि एउटै आवाज प्रयोग गर्छन् । तर सिकारी चराका हकमा भने उनीहरूले फरक–फरक आवाज निकाल्छन् । म्याकग्राका अनुसार यस्तो संकेत गर्ने व्यवहारलाई मानव भाषाको विकासअघिको प्रारम्भिक रूपका रूपमा बुझ्न सकिन्छ ।
विशाल सिकारी चील र टेराटोर्न
विशाल सिकारी चराहरू र मानव पुर्खाबीच सबैभन्दा बढी सम्पर्क अमेरिकामा भएको मानिन्छ । अमेरिकाका प्रारम्भिक मानवहरूको भेट टेराटोर्न नामका विशाल मांसाहारी चराहरूसँग भएको हुन सक्छ । यी चराहरू आफ्नो सिकारलाई सिंगै निल्न सक्थे । गिद्धजस्तै देखिने उनीहरूको पखेटा फैलाउँदा छ मिटर ९२० फिट० सम्म चौडा हुन्थ्यो । उनीहरू मरेका जनावरको मासु खाने र आफैँ सिकार गर्ने दुवै गर्थे ।
लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमकी पक्षी शरीर संरचना संग्रहकी वरिष्ठ क्युरेटर जोआन कुपरका अनुसार यी चराहरू यति विशाल थिए कि पखेटा फैलाएर हावाको बहावसँगै सहजै उड्न सक्थे ।
टेराटोर्नहरूले करिब दुई करोड ५० लाख वर्षसम्म आकाशमा प्रभुत्व जमाए । करिब १० हजार वर्षअघि उनीहरू लोप भए । त्यतिबेलासम्म अमेरिकामा पहिलो मानव पुगिसकेका थिए । कुपरका अनुसार टेराटोर्नले अमेरिकी आदिवासी समुदायमा प्रचलित ‘थन्डरबर्ड’ सम्बन्धी किंवदन्तीलाई प्रेरित गरेको हुन सक्छ । आदिवासी अमेरिकी मिथकमा थन्डरबर्डलाई विशाल पखेटा भएको र गर्जन तथा चट्याङ नियन्त्रण गर्न सक्ने चराका रूपमा वर्णन गरिएको छ ।
‘आयोलोर्निस इन्क्रेडिबिलिस’ अर्थात् अविश्वसनीय टेराटोर्नले दक्षिणी क्यालिफोर्निया र नेभाडामा आतंक मच्चाएको थियो । यसको पखेटा ५.५ मिटर (१८ फिट) सम्म फैलिन्थ्यो ।
अझ उत्तरतर्फ ओरेगनमा पाइने ‘टेराटोर्निस वुडबर्नेनसिस’को पखेटा चार मिटर ९१४ फिट० चौडा थियो । यो विशाल चरा करिब १२ हजार वर्षअघि जीवित थियो । यसको अवशेष म्यामथ, मास्टोडोन, जमिनमा बस्ने विशाल स्लोथ र प्रारम्भिक मानवका अवशेषसँगै भेटिएको थियो ।
विश्वको अर्को भाग न्युजिल्यान्डमा माओरी समुदायको ‘ते होकियोई’ नामक विशाल चीलसम्बन्धी किंवदन्ती छ । उक्त चीलले बालबालिका चोरेर लैजाने विश्वास गरिन्थ्यो । विज्ञहरूका अनुसार यो कथा वास्तविक र लोप भइसकेको विशाल प्रजाति हास्ट्स इगलमा आधारित हुन सक्छ ।
कुपरका अनुसार हास्ट्स इगल मूलत: ‘आकाशमा उड्ने बाघ’ जस्तै थियो । यसको तौल अहिले जीवित सबैभन्दा ठूला चीलमध्ये एक हार्पी इगलको वयस्कको भन्दा करिब दोब्बर थियो । हास्ट्स इगलले करिब चार मिटर (१३ फिट) अग्लो, जमिनमा बस्ने विशाल चरा मोआलाई सिकार गथ्र्यो । यो विशाल चील माथिबाट तीव्र गतिमा झम्टिन्थ्यो । यसको भारी शरीरले आक्रमणको गति बढाउँथ्यो । त्यसपछि १० सेन्टिमिटर (चार इन्च) लामो पञ्जाले सिकारको ढाडमा प्रहार गरेर भुइँमा लडाउँथ्यो ।
कुपर भन्छिन्, ‘मोआका केही श्रोणि हड्डीमा विशाल पञ्जाका निशान देखिन्छन् ।’ उनका अनुसार हास्ट्स इगल मानिसमाथि पनि आक्रमण गर्न सक्षम थियो ।
उनी भन्छिन्, ‘बालबालिकाहरू निश्चित रूपमा जोखिममा थिए । त्यो दृश्य निकै विस्मयकारी र भयावह हुनुपर्छ ।’ माओरी र उत्तर अमेरिकी संस्कृतिमा बालबालिका चोर्ने चरासम्बन्धी किंवदन्ती लामो समयसम्म रहनुको कारण पनि यही हुन सक्छ । ग्रिक मिथकमा समेत सारसले शिशु जन्माउने होइन, चोरेर लैजाने कथाहरू पाइन्छन् ।
कुपर भन्छिन्, ‘यी चराहरू आकाशमा उड्दा जमिनमा छाया पथ्र्यो । उनीहरूले संसारभरिका संस्कृतिमा पनि लामो छाया छाडेका छन् ।’

बालबालिकालाई सिकार गर्ने चील
बालबालिकालाई चीलले सिकार गर्ने घटना प्राचीन इतिहासमा मात्रै सीमित नहुन सक्छ । उन्नाइसौँ शताब्दीमा अमेरिकाको टेनेसीबाट प्रकाशित एउटा समाचारमा एउटा विशाल खैरो चीलले बालकलाई आक्रमण गरेर उडाएको उल्लेख छ । समाचारअनुसार चीलले झम्टिएर बालकको लुगामा आफ्ना विशाल पञ्जा गाडेको थियो ।
एउटी कामदार युवती चीललाई पछ्याउँदै दौडिइन् । करिब दुई माइल टाढा पुगेपछि चीलले आफ्नो सिकारलाई केही समयका लागि भुइँमा राख्यो । नजिकै रहेका एक सिकारीले ठूलो आवाज निकालेर चीललाई तर्साए । त्यसपछि चील उडेर गयो ।
भाग्यवश, ती ‘स्वस्थ, सफा र सुन्दर बालक’लाई कुनै चोट लागेको थिएन ।
मानवले विशाल चराहरूलाई कसरी जिते ?
समग्रमा विशाल सिकारी चराहरूले करिब पाँच करोड वर्षसम्म आकाशमा प्रभुत्व जमाए । त्यसपछि २६ लाख वर्षअघि पृथ्वी प्लाइस्टोसिन युगको ठूलो हिमयुगमा प्रवेश गर्यो । प्लाइस्टोसिन युगमा जलवायुमा तीव्र उतारचढाव भइरहन्थ्यो । यही अवस्थाले मानव विकासलाई गति दिएको मानिन्छ ।
यस युगको अन्त्यतिर, करिब ११ हजार ७०० वर्षअघि, विशाल स्तनधारी जनावरहरू लगभग सबै लोप भइसकेका थिए । सबैभन्दा ठूला सिकारी चराहरू पनि हराइसकेका थिए । जलवायु परिवर्तन वा मानव सिकारीमध्ये कसका कारण विशाल जनावरहरू लोप भए भन्ने विषयमा विज्ञहरूबीच अझै निश्चित निष्कर्ष छैन । तर मानवको विस्तार र उनीहरूले पारिस्थितिक प्रणालीमा ल्याएको परिवर्तनसँगै विशाल जनावरहरूमध्ये ९५ प्रतिशतसम्म लोप भएको देखिन्छ ।
कुपर भन्छिन्, ‘हामी या त उनीहरूलाई सिकार गरेर खान खोजिरहेका थियौँ वा उनीहरूसँग प्रतिस्पर्धा गरिरहेका थियौँ ।’ उनका अनुसार यही कारणले मानिस र सिकारी चराहरूबीच आजसम्म पनि एक प्रकारको तनावपूर्ण सम्बन्ध कायम रहेको हुन सक्छ ।
उनी भन्छिन्, ‘हामी उनीहरूप्रति आकर्षित हुन्छौँ, उनीहरूको सम्मान गर्छौँ, तर उनीहरूसँगै बस्न भने सधैँ सहज महसुस गर्दैनौँ ।’ प्लाइस्टोसिन युगको अन्त्यसँगै जलवायु स्थिर हुन थाल्यो । हिमनदीहरू पग्लिएर पछि हटे र मानिसहरूले खेतीपाती सुरु गरे । यससँगै नयाँ युगको सुरुवात भयो । त्यो हो, मानव युग ।
रातोपाटीबाट साभार