भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् आज सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ।
सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान १०:०० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत गरिनेछ। त्यसलगत्तै उनी बिहान १०:४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भ्रमणको मुख्य राजनीतिक कार्यक्रम अन्तर्गत बिहान ११:०० बजे ‘हैदराबाद हाउस’ मा भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता तय भएको छ। दुई देशका प्रधानमन्त्रीबिचको उक्त वार्तापछि दिउँसो १२:२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी हुनेछ।
त्यसपछि दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ।
दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रमहरू सम्पन्न गरी उनी अपराह्न ४:५० बजे स्वदेश फिर्ताका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ।
आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले त्यहाँ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।
