आज एसिया कप राइजिङ स्टार्समा नेपालको जित

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा पहिलो जित निकालेको छ । नेपालले आज आइतबार यूएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो ।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुवैमा योगदान दिए । उनले ५६ बलमा छ चौका र एक छक्कासहित ५७ रन बनाए। मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन जोडे ।

यूएईका मुहम्मद मोहसिनले दुई विकेट लिनुभयो भने उदीस सुरी र अंश टन्डनले एक–एक विकेट लिए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिए । यस्तै, रासिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित भएको थियो । त्यस्तै, यूएई पनि पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ६१ रनले पराजित भएको थियो । दुवै टोली पहिलो जितको खोजीमा रहेका बेला नेपालले यूएईलाई हराउँदै प्रतियोगितामा आफ्नो खाता खोलेको हो ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’मा रहेको छ । नेपालले समूह चरणको अर्को खेलमा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ ।