भारतीय लगानीकर्ताहरूले नेपालमा क्रिकेट पूर्वाधारदेखि रासायनिक मल कारखानामम्म लगानी गर्ने

भारतीय लगानीकर्ताहरूले नेपालमा क्रिकेट पूर्वाधारदेखि रासायनिक मल कारखानामम्म लगानीका लागि चासो देखाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको भारत भ्रमणका क्रममा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आज आइतबार नयाँ दिल्लीमा आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’ मा सहभागी लगानीकर्ताहरूले नेपालका ६ वटा क्षेत्रमा लगानी गर्न चासो देखाएका हुन्।

यसमा ऊर्जा, पर्यटन, पूर्वाधार र कृत्रिम बौद्धिकता (एआई) समेत रहेका छन्।

नेपालको व्यावसायिक वातावरण र आफ्नो लगानीको अनुभव सुखद रहेको भारतीय लगानीकर्ताहरूले बताए। उनीहरूले आगामी दिनमा थप लगानी विस्तार गर्न आफूहरू इच्छुक रहेको जानकारी गराएको राउन्डटेबलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले जानकारी दिइन्।

राउन्डटेबलमा भएको छलफल नेपालका लागि उपलब्धिमूलक भएको र भारतीय लगानीकर्ता नेपालमा लगानी विस्तार गर्न तयार रहेको देखिएको उनले उल्लेख गरिन्।

कार्यक्रममा भारतका उद्योगी श्रीकान्त सोमानी, पन्जाब बैंकका अशोध चन्द्र तथा एसियन पेन्ट्स नेपालका प्रतिनिधिलगायतका भारतीय लगानीकर्ताहरूले नेपालमा व्यवसाय सञ्चालन गर्दा आफूहरूलाई निकै राम्रो अनुभव भएको सुनाए।

नेपालमा लगानीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उनीहरूले विद्यमान लगानीलाई थप विस्तार गर्ने तयारीमा आफूहरू रहेको जानकारी गराए।

भारतीय लगानीकर्ताको सकारात्मक अनुभवसँगै राउन्डटेबल बैठकमा दुवै देशका सरकारी प्रतिनिधि र निजी क्षेत्रका अगुवाहरूले नेपाल–भारत आर्थिक साझेदारीलाई परम्परागत व्यापारभन्दा माथि उठाएर लगानी, ऊर्जा, पूर्वाधार, प्रविधि र पर्यटनको नयाँ उचाइमा पुर्या उनुपर्नेमा विशेष जोड दिएका छन्।

क्रिकेट पूर्वाधारप्रति भारतीय मन्त्रीको चासो
भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध, व्यापार र लगानीका विविध आयामबारे चर्चा गरे। उनले नेपालको राजनीतिक नेतृत्व र विकासको गतिमा तीव्रता आएको बताए।

उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाह जति छिटो हिँड्छन्, मुलुकमा विकासको गति पनि सोही गतिमा अघि बढ्नुपर्छ।’

राज्यमन्त्री प्रसादले शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसङ्ग निकाल्दै नेपालको खेलकुद क्षेत्र, विशेषगरी क्रिकेट पूर्वाधारमा भारतीय लगानीकर्ताका लागि प्रशस्त सम्भावना रहेको बताए।

‘नेपालको क्रिकेट पूर्वाधारमा भारतका लगानीकर्ताहरू प्रोत्साहित छन्,’ उनले भने। उनको यस भनाइले नेपालको खेल पर्यटन र खेलकुद पूर्वाधार विकासमा भारतीय निजी क्षेत्रको आकर्षण बढेको सङ्केत गरेको छ।

ऊर्जा, मल र डिजिटल सहकार्य
बैठकमा भारतीय राज्यसभा सांसद तथा सीआईआईका सहअध्यक्ष डा. विक्रमजित सिंह साहनीले नेपालसँगको आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन भारत पूर्ण रूपमा तयार रहेको बताए।

उनले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्यलाई महत्त्वका साथ राखिएको उल्लेख गर्दै व्यापार, लगानी, पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

यस्तै, बैठकको अवसरमा भारतले नेपालमा ग्यासमा आधारित युरिया मल कारखाना स्थापना गर्न प्राविधिक सहयोग उपलब्ध गराउने महत्त्वपूर्ण प्रस्ताव समेत अघि सारेको छ।

ऊर्जा सहकार्यबाट नेपालमा लगानी र रोजगारीका अवसर सिर्जना हुनुका साथै विदेशी मुद्रा आर्जन बढ्ने र भारतले स्वच्छ तथा भरपर्दो ऊर्जा प्राप्त गर्ने साहनीको भनाइ थियो।

नेपालले गत वर्ष भारतमा करिब २ हजार ३ सय ८० गिगावाट घण्टा विद्युत् निर्यात गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेकाले नेपाल दक्षिण एसियाकै प्रमुख स्वच्छ ऊर्जा केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे।

नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म विद्युत् निर्यात सुरु हुनु क्षेत्रीय ऊर्जा सहकार्यको सकारात्मक उदाहरण भएको पनि उनले बताए।

नेपाली व्यवसायीले भारतीय बजारमा सहुलियत प्राप्त गर्न आवश्यक पर्ने घरेलु मूल्य अभिवृद्धिको न्यूनतम सीमा हालको ३० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गर्न माग गरेको विषयमा भारतको सम्बन्धित मन्त्रालयले विचार गर्ने आश्वासन साहनीले दिए।

भारतले संयुक्त अरब इमिरेट्स (यूएई) र मौरिससलगायतका मुलुकसँग स्थानीय मुद्रामा कारोबार सुरु गरिसकेको उल्लेख गर्दै उनले नेपालसँग पनि यस्तो व्यवस्था विस्तार गर्न सकिने धारणा राखे।

सीमापार रेलमार्ग, सडक, पेट्रोलियम पाइपलाइन तथा एकीकृत जाँच चौकी (आईसीपी) को पूर्वाधार विकासमा भइरहेको प्रगतिलाई सकारात्मक रूपमा लिँदै साहनीले व्यापार लागत घटाउने योजनामा जोड दिए।

सन् २०२६ जुलाईमा कोलकाताबाट विराटनगरसम्म ४० कन्टेनर बोकेको पहिलो प्रत्यक्ष मालवाहक रेल सेवा सञ्चालन भएको विषयलाई उनले दुई देशबिचको व्यापारिक सम्पर्क विस्तारको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे। वीरगञ्ज, विराटनगर र नेपालगञ्जका एकीकृत जाँच चौकीलाई थप प्रभावकारी बनाउँदै व्यापारिक प्रक्रिया सहज बनाउनुपर्ने उनको भनाइ थियो।

यसैगरी, साहनीले डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) लाई दुई देशबिचको सम्बन्धको नयाँ सम्भावनायुक्त क्षेत्रका रूपमा औँल्याए। भारतको एकीकृत भुक्तानी प्रणाली (यूपीआई) र नेपालको नेपाल पे बिचको अन्तरआबद्धताले सीमापार भुक्तानी सहज बनाइरहेको उल्लेख गर्दै उनले भारतको भाषा प्रविधि ‘भाषिणी’ र काठमाडौँ विश्वविद्यालयबीच भइरहेको सहकार्यको उदाहरण दिए। एआई तथा भाषासम्बन्धी प्रविधिमा संयुक्त अनुसन्धान र विकासको बलियो सम्भावना रहेको उनको धारणा थियो।

नेपालमा निर्धक्क लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
राउन्डटेबलमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी गर्न औपचारिक आग्रह गरे। लगानीका लागि आवश्यक सबै नीतिगत तथा संरचनागत सुधार गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटिजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र भइरहेको लगानी विस्तार गर्न आह्वान गरे।

सोही अवसरमा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० यांकी उक्याबले भौगोलिक निकटता, स्थिर विनिमय दर र नेपाली उत्पादनले भारतीय बजारमा पाउने भन्साररहित पहुँचका कारण नेपाल भारतीय लगानीका लागि स्वाभाविक र आकर्षक गन्तव्य भएको बताइन्।

नेपालमा १०२ वटा उद्योगलाई स्वचालित स्वीकृति प्रणालीमा समेटिएको र १५ दिनभित्रै उद्योग दर्ता हुने व्यवस्था रहेको जानकारी दिँदै उनले हालसम्म ५३ परियोजनामा करिब १ खर्ब ६७ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी स्वीकृत भएको र २८ आयोजना निर्माणाधीन रहेको बताइन्। उनले जलविद्युत्, सौर्य ऊर्जा, हरित डेटा सेन्टर, कृषि प्रशोधन, रेलमार्ग, पर्यटन र खेल पूर्वाधारमा पुँजी, प्रविधि र बजार पहुँच भएका भारतीय लगानीकर्तालाई लगानी गर्न आग्रह गरिन्।

व्यापार अवरोध अन्त्यमा नेपाली व्यवसायीको जोड
कार्यक्रममा नेपालका उद्योगीहरूको छाता सङ्गठनका प्रतिनिधिहरूले नेपाल र भारतबिच व्यापार, पारवहन, पूर्वाधार, ऊर्जा, प्रविधि र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न प्राथमिकता अघि सारे।

भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार भए पनि नेपाली उद्योगले भारतीय बजारमा अपेक्षित पहुँच पाउन नसकेको जनाउँदै उनीहरूले व्यापारिक अवरोध समाधानका लागि दुवै देशका निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्ने बताए।

भारतले गत वर्ष ९४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको सन्दर्भ निकाल्दै श्रेष्ठले नेपालले पनि लगानी आकर्षित गर्न १०२ उद्योगमा स्वचालित स्वीकृति र ५९ वटा ऐन तथा करिब ५ सय कानुनी प्रावधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए।

नेपाल उद्योग परिसङ्घ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्र ४५ अर्ब अमेरिकी डलरबाट १०० अर्ब डलर पुर्‍याउने लक्ष्य हासिल गर्न ठुलो पुँजी, औद्योगिक विस्तार र निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए। उनले जलविद्युत्, नवीकरणीय ऊर्जा, पूर्वाधार, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिमा भारतीय लगानी, औद्योगिक सहकार्य र प्रविधि हस्तान्तरणमा जोड दिए।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल–भारतबिचको प्राकृतिक सम्बन्धलाई संस्थागत गर्दै आर्थिक उन्नतिको आधार बनाउनुपर्ने धारणा राखे।

व्यापारबाट उत्पादन साझेदारीमा रूपान्तरणको पहल
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले नेपाल–भारत आर्थिक सम्बन्धलाई परम्परागत क्रेता–विक्रेताको दायराबाट माथि उठाएर लगानी, उत्पादन, उद्यमशीलता र नवप्रवर्तनको साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताइन्। मञ्चका सिफारिसहरू बैठकको माइन्युटमा मात्र सीमित नहोऊन् भन्नका लागि सरकारको तर्फबाट स्पष्ट फलोअप संयन्त्र आवश्यक रहेकोमा उनले विशेष जोड दिइन्।

राणाले व्यापारबाट लगानीतर्फको यात्राका लागि तीन मुख्य प्राथमिकता प्रस्तुत गरिन्। पहिलो, गैरभन्सार अवरोध, बीआईएस प्रमाणीकरण, उत्पादन मापदण्ड, क्वारेन्टाइन र भन्सार प्रक्रियामा रहेका झन्झट हटाई सीमा नाकामा हुने ढिलाइ अन्त्य गर्न दुवै सरकार र निजी क्षेत्र सम्मिलित संयुक्त संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरिन्।

दोस्रो, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि नेपालले आशयपत्र प्रक्रिया खुला गर्नु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भारतीय ऊर्जा कम्पनीहरूलाई नेपाली कम्पनीसँग संयुक्त लगानी र प्राविधिक सहकार्य गर्न आग्रह गरिन्।

तेस्रो, वस्तु आयात–निर्यातमा मात्र सीमित नभई प्रविधि हस्तान्तरण, कृषि–प्रशोधन, निर्यातमुखी उद्योग, एकीकृत औद्योगिक पार्क र सीमापार लजिस्टिक्समा लगानी भित्र्याएर दुवैतर्फ रोजगारी सिर्जना गर्नुपर्नेमा उनको जोड थियो।

नेपाल–भारत सम्बन्धलाई दिल्लीमा मात्र सीमित नराखी उत्तर प्रदेश, बिहार र उत्तराखण्डजस्ता छिमेकी भारतीय राज्यहरूसँग प्रत्यक्ष साझेदारी विस्तार गर्नुपर्ने राणाको धारणा थियो।

साथै, पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ र जनकपुरलाई भारतको वाराणसी, अयोध्या र बोधगयासँग जोड्ने आध्यात्मिक पर्यटन सर्किट विकास गर्नुपर्ने र वेलनेस रिसोर्ट, आयुर्वेद, योग तथा ध्यानका क्षेत्रमा लगानीको उत्कृष्ट अवसर रहेको उनले बताइन्।

सो क्रममा उनले सन् २००७ मा सीआईआई र एफएनसीसीआईको पहलमा संयुक्त व्यापार परिषद् गठन भई सन् २०१६ मा औपचारिक मञ्च बनेको र सन् २०१८ को कार्यसर्त तथा २०२० को समझदारीपछि १ जुन २०२३ मा नयाँ दिल्लीमा पहिलो तथा ११ जनवरी २०२४ मा काठमाडौँको चन्द्रागिरिमा दोस्रो संयुक्त व्यापार मञ्च ९जेबीएफ० बैठक सम्पन्न भएको पृष्ठभूमि स्मरण गरिन्।

बाढीप्रभावित क्षेत्रको पुनरुत्थानमा निजी क्षेत्रबिच समझदारी
राउन्डटेबलकै अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घबीच नेपालका बाढीप्रभावित क्षेत्रमा राहत, पुन:स्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार सीआईआईले भारत सरकार तथा आफ्ना सदस्य उद्योगहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्नेछ भने महासङ्घले नेपाल सरकार, स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गर्नेछ।

समझदारीअन्तर्गत पहिलो चरणमा सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, नि:शुल्क औषधि वितरण, सरसफाइ तथा स्वच्छता सामग्री उपलब्ध गराउने र दुई अस्पताललाई आधारभूत जीवनरक्षा सुविधासहितका एम्बुलेन्स हस्तान्तरण गर्ने योजना छ।

दोस्रो चरणमा बाढीप्रभावित परिवारको जीविकोपार्जन पुन:स्थापना, कृषि तथा साना व्यवसायका लागि आवश्यक उपकरण र सहयोग, सीप विकास तथा व्यावसायिक तालिम, प्रभावित लघु, घरेलु तथा साना उद्योगको पुनरुत्थान, वित्तीय तथा बजार पहुँच विस्तार र नेपाली तथा भारतीय उद्योगबिच व्यावसायिक साझेदारी प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।