नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध मुद्दा दर्ता गर्ने बाटो खुलेको छ ।
उच्च अदालत, पाटनका न्यायाधीशद्धय टंकप्रसाद गुरुङ्ग र टीकाराम आचार्यको संयुक्त इजलासले बस्नेतबाट पीडित भनिएकी शोभा पाठकले कानुनबमोजिम ल्याएको रिट दर्ता गर्न आदेश दिएको हो ।
बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी शोभाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा ‘भ्रण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ प्रकरणमा जाहेरी दिएकी थिइन् । प्रहरीले प्रमाण अपुग भएको जनाउँदै मुद्दा तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।
सोहीअनुरुप कार्यालयले मुद्दालाई तामेलीमा राखेको हो । त्यसविरुद्ध शोभाले जिल्ला सरकारी वकिल कार्यालयसहितलाई विपक्षी बनाएर उच्चमा रिट निवेदन दिएकी थिइन् ।
आफू गर्भवती हुँदाको अल्ट्रासाउण्डको रिपोर्ट, पटकपटक गर्भ फालेको अस्पतालको रिपोर्ट हुँदाहुँदै प्रहरीले पर्याप्त प्रमाण नभएको जनाउँदै बस्नेतलाई जोगाएको आरोप लगाउँदै आएकी उनको मुद्दामा यसअघि न्यायाधीश हेमन्त रावलको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारी वकिल कार्यालय र परिसरलाई आदेश दिएको थियो ।
उच्चले बेरितको आदेश बदर गर्दै रिट निवेदन दर्ता गर्न भनेको छ । जसले गर्दा मुद्धा दर्ताका लागि बाटो खुलेको छ शोभालाई ।