झापाकी रक्सी खाएकी महिलाले आफ्नै पसलमा लगाइन् आगो

झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ।

टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा हिजो शुक्रबार राती आगलागी भएको हो।

प्रहरीका अनुसार बलभद्र प्रसाईं सञ्चालन गरेको सो पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइता प्रसाईंले मादक पदार्थ सेवन पश्चात श्रीमानसँगको झगडामा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पसलमा आगो लगाएपछि सोइता हाल फरार रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा २० मिनेटमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ।

आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिजलगायत पसलभित्र रहेका सामग्री जलेको छ। त्यसबाट करिब दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।