‘साहसी छोरीहरू’ एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’मा प्रधानमन्त्रीद्धारा प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा समर्थन जनाउनुभएको छ ।

आज शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीले ‘साहसी छोरीहरू’ भन्दै यी उदीयमान गायिकालाई ढाडस समेत दिनुभएको हो ।

जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले यी दुई गायिकको तरिका सहि लागेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले चौहान र अधिकारीको तरिकामा समर्थन जनाउँदै लेख्नुभएको छ, ‘समाजलाई उत्तेजनाले ’गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।’

‘समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन’ ओलीले लेख्नुभएको छ । एलिनाले पनि प्रधानमन्त्रीको स्टाटस सेयर गर्दै कडा कानून ल्याउनुपर्ने माग राख्नुभएको छ ।

पछिल्ला केही दिनयता एलिना र समीक्षाको निजी जीवन र विगतप्रति टिप्पणी गर्दै केही सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमा लान्छना लगाइरहेका छन् । यस्तो टिप्पणी गर्नेको आइडी सार्वजनिक गर्दै यी दुई गायिकाले सामाजिक संजालमा प्रतिरोध अभियान चलाइरहेका छन् ।

अभिनेता दीपकराज गिरीले पनि गायिकाद्धयको यो अभियानमा समर्थन जनाउनुभएको थियो ।