छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला
यो गित यत्तिकै चर्चामा आएको होइन । खानका लागि धान महत्वपूर्ण छ ।
यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ ।
अब जीवन धान्ने कृषी हैन व्यवसाहीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा उच्चकोटीको देश भनेर नेपाल चिनिने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं ।
हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषीकर्ममा ध्यान नदिने हो भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् ।
बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।
कृषीप्रधान देश नेपाल अहिले आएर वैदेशिक रोजगारदाताहरुको सर्वप्रीय थलो भएको छ र यसको कारण हो कोदालो लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मोह । हरेक वर्ष धान दिवसमा दुईवटा कुरालाई मुख्य केन्द्र बनाइन्छ, एउटा कृषीमा आधुनिकिकरण अनि अर्को खाधान्न आयातमा न्यूनीकरण ।
बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दछौं जुन नेपाली स्वाभिमान अनि कृषीकर्मको आदर्श बिरुद्ध हो भन्दा फरक पर्दैन् । हाम्रा माटो अनि खोलाका पानीको घनत्वको गहिराईसम्म उत्पादकत्व अनि पौरख लुकेको छ ।
हुन त नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् ।
अब राष्ट्रिय धान दिवसमा नेपालीहरुमा कृषीकर्मप्रतिको एउटा अठोटको खाँचो छ।
दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् । माटोको जय होस्
धान दिवसको सबैलाई शुभकामना