बिद्या भण्डारीको एमालेमा पुन: सक्रिय रहेको घोषणाले ओलीलाई होइन, महासचिव शंकर पोख्रेलको राजनीतिक जीवनमै ‘कालो बादल’ मडारिदिएको छ । त्यो ‘कालो बादल’ केवल ओलीको उत्तराधिकारी हुन पाउने—नपाउने कुरासंग मात्रै सम्वन्धित छैन, जनताको बहुदलिय जनवाद जवजको प्राधिकार को हुने भन्नेसंग सम्वन्धित छ ।
पोख्रेल एमाले भित्र जबजका सबैभन्दा प्रखर प्रवक्ता र व्याख्याता मानिन्छन् । उनलाई सैद्धान्तिकरुपमा काउण्टर दिन सक्ने अरु नेता पार्टीमा छैनन् । जबकी विद्या भण्डारीले उनलाई सजिलै काउण्टर दिन सक्छिन्, दिइरहेकी छन् । त्यसको मुख्य कारण भण्डारी जवजका ‘जन्मदाता’ मदन भण्डारीकी पत्नी हुन् । उनी भण्डारीकी पत्नी मात्र होइनन्, शंकर पोख्रेल लगायतका अहिले एमाले पदाधिकारी रहेका कैंयौ नेताहरु भन्दा बरिष्ठ हुन् । पार्टीको पूर्व उपाध्यक्ष हुन् र त्यसमाथि २ पटक राष्ट्रपति भैसकेकी छन् । त्यसैले एमाले पंक्तिमा भण्डारीको जर्वजस्त ‘फ्यान फलोइङ’ छ । भण्डारी पोख्रेल जस्तो ‘कुशल वक्ता’ र जबजकी प्रखर विश्लेषक होइनन्, तर उनको जुन बलियो पृष्ठभूमी र इतिहास छ, त्यसले पोख्रेलमाथि सजिलै हावि हुन सक्ने अनुमान गरिदैंछ ।
भण्डारीले पार्टीमा सक्रिय रहन खोजेदेखि नै ओलीले सांकेतिकरुपमा विरोध गरेजस्तो गरे पनि ठाडै विरोध गरेका छैनन्, तर महासचिव पोख्रेल र उनी निकट नेता कार्यकर्ताहरु भने आफ्नो भाग खोसिएकै जस्तो गरि तीब्र विरोध गरिरहेका छन् । उनीहरुले अहिले नै अबको अध्यक्ष शंकर पोख्रेल हो भनिरहेका छैनन्, केवल भण्डारीको विरोध गरिरहेका छन् । त्यसो गर्नु पछाडिको मुख्य कारण आफूमाथि आइलाग्न सक्ने सम्भावित ‘राजनीतिक दुर्घटना’ नै हो ।
दुई कार्यकाल राष्ट्रपति पदमा आसिन विद्या भण्डारीले निष्क्रिय राजनीति बाट सक्रियमा फर्कन खोज्नु अन्य दलले भन्दा एमालेका नेता कार्यकर्ता आफैले विरोध मात्र गरेनन् प्रधानमन्त्री केपीओली र विद्या भण्डारीको सम्बन्धमा समेत चिसोपन ल्याइदिएको छ ।