आज आकस्मिक बाहेक देशभरका अस्पतालहरु बन्द

  • Clock icon
    २०८३ श्रावण १२, मंगलवार

नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारी सीडीओको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका  चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै संघले यस घटनाको घोर भर्त्सना गरेको छ।

  • Clock icon
    २०८३ श्रावण १२, मंगलवार