कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने दाबी गर्नुभएको छ ।
आज आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिलोबाट तर्किएर देश नबन्नेमा जोड दिनुभएको हो ।
‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिंड्छौँ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ। तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन।’
अधिकारीले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको उल्लेख गर्नुभयो ।
आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको स्वीकार्दै उहाँले मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताउनुभयो ।