झम्कको भिजन : ईन्द्रावतीका भित्री बस्तीका बाटोमा समेत कालोपत्रे

ईन्द्रावती गाउँपालिका विभिन्न क्षेत्रमा उल्लेखनीय कामा गर्दै अघि बढिरहेको पालिका हो । सबैभन्दा राम्रो काम गरेर मुलुकमै चर्चित यस पालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षभित्र पालिकाभित्रका सबै मुख्य सडकहरूमा कालोपत्रे कार्य अघि बढाएको छ।

त्यसैं क्रममा, वडा नं ८ अन्तर्गतको गहते शाखा सडकमा कालोपत्रे कार्य सुरु गरिएको छ। जसको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

यस गाउँपालिकाको योजना र बागमती प्रदेशको समन्वयन स्वामित्वमा रहेका प्रमुख सडकहरूको स्तरोन्नति गर्दै स्थानीय पूर्वाधारलाई व्यवस्थित र सुलभ बनाउने अभियानलाई तीव्रता दिएको छ । पालिकाका अध्यक्ष नेपालले उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाको गफ होइन, काममा विश्वास गरेको बताएका छन् । हरेक वडामा समान रूपमा विकास पुगोस् भन्ने हाम्रो चाहना रहेको बताउँदै उनले गहते शाखा सडकको कालोपत्रेले यहाँका बासिन्दालाई वर्षा र हिउँद दुबै मौसममा सहज यातायात सुनिश्चित हुने  जिकिर गरेका छन् ।

स्थानीय बासिन्दाहरूले यस कार्यप्रति उत्साहित हुँदै विकासको यो गति र प्राथमिकताप्रति प्रशंसा गर्दै सडकको स्तरोन्नतिले सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास समेत व्यक्त गरेका छन्।

इन्द्रावती गाउँपालिका मुलुकमै केम बेरुजु हुने र उल्लेखनीय कार्य गर्ने पालिकामा सम्मानित भइसकेको छ । विषेशगरी सडक पूर्वाधार नै विकासको मुख्य मेरुदण्ड रहेको र स्तरीय सडक निर्माण सँगै विकासका अन्य चीजहरूको आगमन हुनेमा पालिकाको मत  छ ।