सभामुख देवराज घिमिरेले संसदमा रहेका दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
संसद दिवसको अवसरमा आज सोमबार शुभकामना सन्देश जारी गर्दै उहाँले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गर्नुभएको छ ।
संसद दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले राजनीतिक योद्धाको योगदानको स्मरण गर्नुभयो ।
नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ । आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख घिमिरेको भनाइ छ ।
संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको उल्लेख गर्नुभयो ।