सामाजिक उत्तरदायित्वमा युवा

केहीदिन अघि अप्राह्नमा एक जना साथी र म पुतलीसडकमा हिँडिरहेका थियौँ । बालबालिकाको एउटा समूहले बटुवाहरूलाई विभिन्न तस्बिर भएका पोस्टकार्ड किनिदिन आग्रह गरिरहेका थिए । विपरिततिरबाट आइरहेका करिब छ जना युवाको समूहका सबैले खल्तीबाट पाँच पाँच रुपैयाँ निकालेर दिए अनि भने, ‘यो कार्ड अरूलाई नै बेच है ।’ युवाहरुले आपसमा कुरा गर्दै भने, ‘मागेर खानुभन्दा केही गरेरै खानु नै बेस भन्ने यी नै बालबालिकाबाट पाठ सिक्न सकिने रहेछ ।’

अर्को दृश्य कोटेश्वरबाट महाराजगन्ज जाँदै गरेको नेपाल यातायातमा युवाको एक समूह यात्रा गर्दै थियो । नयाँ बानेश्वरबाट एक वृद्धा बसमा चढिन् । एक युवा जुरुक्क उठेर वृद्धालाई सम्बोधन गर्दै भने, ‘आमा बस्नुस् भनेर सिट छाडिदिएको छु ।’

सामाजिक उत्तरदायित्व बहन गर्ने युवाको सङ्ख्या पछिल्लो समय बढ्दो छ भन्ने पुष्टि गर्ने यी त प्रतिनिधि दृश्य मात्रै हुन् । राम्रो अवसर पाए विदेश हान्निने युवा पछिल्लो समय नेपालमै फर्किएर समाजका लागि उदाहरणीय काम गरिरहेका छन् । कोही कृषिमा आधुनिकीकरण गर्न भरपुर लागेका छन् भने कसैले नेपालमै व्यवसाय सञ्चालन गरेर अन्यलाई रोजगार दिइरहेका छन् । मुलुकका दुर्गम स्थानका बालबालिकामा शिक्षा र सूचना प्रविधि पुर्याउन तीनै युवा लागेका छन् । युवा भन्ने बित्तिकै उट्पयांङ गर्ने, होहल्ला गर्ने, कलेज बन्द गर्ने, स्वार्थका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने मान्यतालाई यस्ता उदाहरणले निमिट्यान्न पारेको छ । युवा समाजका लागि केही गर्नुपर्छ भनेर अग्रसर पङ्क्तिमा छन् भन्ने कुरा बिर्सनु हुँदैन ।

वास्तवमा युवालाई अवसरको खाँचो छ । युवा जोस जाँगर लाई सदुपयोग गर्नका लागि घरबाटै सहभागितामा बढवा दिनुपर्छ । घरको एउटा निर्णय गर्दा छोराछोरीलाई सँगै राखेर छलफल गरेर निष्कर्षमा पुर्यायो भने मात्र सफलता प्राप्त हुन्छ । त्यसपछि उसले आफ्नो जिम्मेवारी बहन गरेर सबै कार्यमा अग्रसर रहन्छ ।

त्यसो त युवा नै सर्वेसर्वा हुन् । जे गरेका छन् युवाले नै गरेका छन् भन्ने परिपाटी सही होइन, अर्थात् युवा समस्या नै होइनन् भन्ने पनि होइन । आई हेट पोलिटिक्स भन्ने युवा अहिले विभिन्न राजनीतिक दलमा आबद्ध भएका देखिएका छन् । तर परिवर्तन गर्छु भनेर विभिन्न राजनीतिक दलमा आबद्ध युवा आफ्नो स्वार्थभन्दा माथि उठ्न सकेका छैनन् । राजनीतिक दलको भातृ सङ्गठनमा आबद्ध युवाले चाहेर पनि संस्था र आफैमा परिवर्तन ल्याउन सकेका छैनन् । गफ बढी र आफ्नो पक्षमा युवा जमात एकत्रित पार्नका लागि चिया र चिसो खुवाउने बाहेक अन्य काम गर्न सकेका छैनन् । आन्दोलनमा अगाडि सार्न प्रेरित गर्ने युवा नेताले आफ्ना कार्यकर्तालाई रोजगारतिर प्रेरित गर्नुभन्दा परजीवी बनाउनमै केन्द्रित पार्न व्यस्त छन् । अब बुढा नेताको काम छैन भन्न नछाड्ने युवा नेताहरू पनि पार्टीकै लागि केही योगदान दिन नसकेको राजनीतिमा वृत्तान्त छ ।

सेन्ट जेभियर्स कलेजका मनोविज्ञानका अध्यापक सन्ध्या राउतले युवा भनेको समाजको भविष्यका कर्णधार भएकाले उनिहरूको बाल्यकालमा राम्रो वातावरण सिर्जना गर्दिनुपर्नेमा जोड दिन्छिन् । उनले यसलाई सामाजिक चुनौतीका रूपमा लिन सकिनेमा जोड दिन्छिन् । मनोविज्ञानकै शिक्षक निकिता श्रेष्ठका अनुसार परिवारमा नै बढी जिम्मेवार हुने भएकाले परिवार नै मार्गदर्शनमा लाग्नुपर्दछ । परिवारकै उपस्थितिमा सोसल मिडियामा खाता खोल्ने किशोरहरूले नै यो यसलाई सकारात्मक बनाउन सिकाए सबै किशोर किशोरीमा उत्तरदायित्व बढ्छ ।

सरकारले ल्याएका युवा केन्द्रित कार्यक्रमलाई सरकार समर्थित सङ्गठनमा आबद्ध बाहेक बाहिर नपुग्नुमा पनि तिनै युवा नेता दोषी छन् । युवा स्वरोजगार कोष अन्तर्गतका कार्यक्रम यसको ज्वलन्त उदाहरण हो । आफ्नो अधिकार माग्न अग्रसर हुने युवा नेताले आफूले गर्ने कार्यप्रति जिम्मेवार नभएकाले पनि मुलुकको राजनीतिले सही राजमार्ग सम्हाल्न नसकेको भन्नेहरू पनि उत्तिकै छन् ।

विभिन्न तहमा पुगेका युवा नै पुरानै ढर्रामा चल्नु, वा आफ्नो स्वार्थ पुरा भए पनि बढी महत्त्वाकाङ्क्षामा विलीन भएर अन्य युवाको समस्याप्रति मौन रहनु युवा नेतृत्वको कमजोरी हो । यिनै युवा नेतासँगै समग्र युवालाई जोड्ने परिपाटीले पनि समग्र युवाप्रति नकारात्मक दृष्टिकोण हाबी भएको जानकारहरू बताउँछन् ।

पछिल्लो समय सरकारी कार्यालय पनि युवाको लागि आकर्षण केन्द्र बन्दै गएको छ । सहरमै रहेका युवाहरू पनि सरकारी कार्यालयप्रति झुकाव बढाएका छन् । तर पनि सरकारी कार्यालयको काममा आमूल परिवर्तन आउन सकेको छैन । समस्या समाधान हुने होइन न्यूनीकरण गर्न सकिने भए पनि समस्याको जडबाट मुक्त नहुनुमा युवा पङ्क्ति नै दोषी छ ।

मुलुकमा हुने आन्दोलनमा युवालाई अघि सारेर विभिन्न दलले आफ्ना स्वार्थ पुरा गरिरहेका छन् । तर युवालाई समाजप्रति उत्तरदायी बनाउन कसैले पहल गरेको पाइँदैन । अरूका स्वार्थ सिद्ध गर्न युवा उपयोग भएकाले पनि समाजमा युवा नराम्रा जमात त होइनन् रु भन्ने भान बढ्दै गएको छ ।

वास्तवमा युवालाई अवसरको खाँचो छ । युवा जोस जाँगर लाई सदुपयोग गर्नका लागि घरबाटै सहभागितामा बढवा दिनुपर्छ । घरको एउटा निर्णय गर्दा छोराछोरीलाई सँगै राखेर छलफल गरेर निष्कर्षमा पुर्यायो भने मात्र सफलता प्राप्त हुन्छ । त्यसपछि उसले आफ्नो जिम्मेवारी बहन गरेर सबै कार्यमा अग्रसर रहन्छ ।

विभिन्न मुलुकहरूले युवाको परिभाषालाई आ-आफ्नै उमेर समूहमा विभाजन गरेका छन् । नेपालमा पनि १५ देखि ४० वर्ष उमेर समूहलाई युवा भनेर युवा नीति निर्माण भइसकेको छ ।

नीति अनुसार कार्यक्रम बन्न नसकेकाले पनि समस्या निमूर्लिकरणमा असहज परिस्थिति आएको हो ।

अन्य उमेर समूहभन्दा युवापङ्क्ति नै मनोरञ्जनप्रति झुकाव हुने भएकाले त्यसलाई नकारात्मक दृष्टिले हेर्नुहुँदैन । यस्तै युवालाई समस्या, बेरोजगार, सीमित समयका उपयोग गर्ने साधनबाट अलग राख्न सबैले कोसिस गर्नुपर्छ ।

युवा समाजकै हुन् र समाज युवाले नै बनेको छ भन्ने कुरालाई आत्मसाथ गर्यो भने पुस्तान्तरणको समस्या सहजै सुल्झिन्छ । आफूमा भएको अहम् तोडेर अघि बढ्न सके युवाले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व आफैँमा अनुकरणीय कर्तव्य हुन्छ । किनभने अरू ले गर्न नसक्ने काम सजिलै फत्ते गर्ने उमेर समूहलाई नै युवा भनिन्छ ।