योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म १५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई १५ अर्ब ६७ करोड भुक्तानी गरेको हो ।
कोषले औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।
कोषले औषधीउपचार सुविधावापत २ अर्ब १२ करोड ६० लाख ३७ हजार ७१० रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधावापत २० करोड ३७ लाख ३२१ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत २६ करोड ७ लाख ९६ हजार ९४० रुपैयाँ र वृद्धावस्था सुरक्षा बयोजनावापत १३ अर्ब ८ करोड ५९ लाख ६ हजार ५ रुपैयाँ बराबर दाबी भुक्तानी गरेको छ ।
कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत ५ लाख ९२ हजार ४६४ पटक, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १० हजार ५०६, आश्रित परिवार सुरक्षा योजनाको २८ हजार ४४७ र वृद्ध अवस्था सुरक्षा योजनाको १ लाख २० हजार ८०४ पटक दाबी भुक्तानी गरेको छ ।
कोषमा हालसम्म २३ लाख ७१ हजार ७६२ जना योगदानकर्ता र २० हजार९४१ जना रोजगारदाता सूचीकृत भएका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशबाट ४ लाख ५५ हजार २९९ जना आबद्ध भएका छन् । त्यसैगरी कोसीबाट ६४ हजार ११०, मधेसबाट २९ हजार ७०४, गण्डकीबाट २५ हजार ४०७, लुम्बिनीबाट २१ हजार ५२५, कर्णालीबाट २ हजार ३६४ र सुदूरपश्चिमबाट ३ हजार ६९ जना कोषमा आबद्ध भएका छन् ।
कोषमा हालसम्म ८३ अर्ब ५८ करोड योगदान रकम सङ्कलन भइसकेको छ ।