यु–२० महिला साफ च्याम्पियनसिप २०२५ अन्तर्गत नेपाल र आयोजक बंगलादेशबीचको निर्णायक खेल आज (सोमबार) हुँदैछ। उपाधि कसले जित्ने भन्ने प्रश्नको जवाफ यही खेलले दिने भएकाले दुवै टोलीका लागि यो खेल ‘फाइनलभन्दा कम होइन’ भन्ने मानिएको छ।
खेल आज साँझ ६:४५ बजे नेपाली समय अनुसार ढाकास्थित बशुन्धरा स्पोर्ट्स ग्राउण्डमा सुरु हुनेछ। यसअघि लिग चरणको खेलमा यी दुई टोलीबीचको भिडन्तमा नेपाल ३–२ ले पराजित भएको थियो। तर त्यसपछि नेपालले भुटान र श्रीलंकामाथि जित निकाल्दै फाइनल प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको हो।
बंगलादेश हालसम्म पाँचवटै खेल जित्दै १५ अङ्कसहित शीर्ष स्थानमा रहँदै आएको छ भने नेपाल १२ अङ्कसहित दोस्रो स्थानमा छ। नेपाललाई उपाधि जित्न आजको खेल अनिवार्य जित्नु पर्नेछ। यदि नेपालले बंगलादेशलाई पराजित गर्न सफल भयो भने दुवै टोलीको अंक बराबर हुने भए पनि गोलअन्तरको आधारमा नेपाल विजेता घोषित हुनेछ। बंगलादेशका लागि भने केवल बराबरी पनि उपाधिका लागि पर्याप्त हुनेछ।
यसअघि आजै दिउँसो २:४५ बजे भुटान र श्रीलंकाबीच खेल हुने तालिका छ। भुटान हालसम्म ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने श्रीलंका अंकविहीन अन्तिम स्थानमा छ।
नेपालका प्रशिक्षक तथा खेलाडीहरूले उपाधिको सम्भावनालाई अन्तिम क्षणसम्म जिवित राख्दै फाइनल खेलमा आक्रामक रणनीतिका साथ मैदानमा उत्रने बताएका छन्।
दर्शकहरूको नजर समेत आजको खेलमा केन्द्रित रहेको छ, जुन दक्षिण एसियाली महिला फुटबलको स्तर र प्रतिस्पर्धाको संकेत दिनेछ।
आजको खेल नेपालका लागि इतिहास रच्ने अवसर सावित हुन सक्ने भएकाले राष्ट्रिय टोलीका समर्थकहरू उत्साहित छन्। अब हेर्न बाँकी छ—के नेपालले बंगलादेशलाई पराजित गर्दै यु–२० साफ महिला फुटबलको उपाधि पहिलोपटक जित्ने हो त?