विदेश आवागमनको प्रमुख नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा ४५ जना नयाँ शाखा अधिकृतलाई गृह मन्त्रालयले खटाएको छ।
हालै लोकसेवा आयोगबाट शाखा अधिकृत स्तरको परीक्षा पास गरी आएका अधिकृतहरूलाई तीन दिने विशेष तालिम प्रदान गरिसकेपछि आज (सोमबार)देखि कर्तव्यस्थलमा खटाइएको मन्त्रालय स्रोतले जनाएको छ। यस निर्णयसँगै अध्यागमन सेवा थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउने गृह मन्त्रालयको पहलका रूपमा हेरिएको छ। सुरक्षा, सेवा र सुशासनलाई सुधार गर्ने उद्देश्यले नयाँ अधिकृतहरूको खटपटक गरिएको बताइएको छ।
अध्यागमन प्रमुखका रूपमा हालै सुरुवा भएका सहसचिव घिमिरे पूर्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता समेत भइसकेका अनुभवी प्रशासक हुन्। उनकाे नेतृत्वमा अध्यागमन सेवामा संरचनात्मक सुधार र कार्यशैलीमा आधुनिकता र उत्तरदायित्वको भाव ल्याउने अपेक्षा गरिएको छ। यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा सिफारिस गरेको थियो। त्यसपछि गृह मन्त्रालयले सोही सङ्ख्यामा मन्त्रालय भित्र कार्यरत शाखा अधिकृतहरूलाई फिर्ता बोलाएर नयाँ अधिकृत अध्यागमन कार्यालयमा पठाएको हो।
विशेषगरी अध्यागमनजस्तो संवेदनशील क्षेत्रमा नयाँ, ऊर्जावान र दक्ष जनशक्ति परिचालन गरेर सेवा गुणस्तरमा व्यापक सुधार ल्याउने रणनीतिअन्तर्गत यो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ। अब त्रिभुवन विमानस्थलमा देखिँदै आएको ढिलासुस्ती, असहज व्यवहार र पारदर्शिताको अभाव जस्ता गुनासाहरूलाई सम्बोधन गर्न पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, डिजिटल प्रणालीको प्रभावकारी उपयोगसहित अध्यागमन सेवा आधुनिकिकरणतर्फ उन्मुख हुनेछ भन्ने विश्वास गरिएको छ।