यूएईको दुबईस्थित अल नासर लेजरल्याण्ड हल नेपाली संगीत प्रेमीहरूले आइतबार साँझ भरेसम्म गुञ्जायमान बन्यो। गोर्खा साँझ सिजन ३ अन्तर्गत आयोजित कार्यक्रममा लोकप्रिय गायक कुमा सागर र खोप ब्याण्डले ४० डिग्रीको चर्को गर्मीका बीच ४ हजारभन्दा बढी दर्शकहरूलाई मन्त्रमुग्ध पार्ने जीवन्त प्रस्तुति दिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा उभिएका कुमा सागरले जब स्टेजमा आफ्नै शैलीमा “ओ जाने भए जाउ”, “हावाको लहर”, “चम्पा”, “चमेलीको फूल” जस्ता चर्चित गीतहरू सुनाउन थाले, हलभित्र हुटिंगको बहार चल्यो। दुबईमा पहिलोपटक प्रस्तुत हुँदै गरेका कुमा सागरले दर्शकमाझ गहिरो छाप छाड्न सफल भए।

ब्याण्डसहित प्रस्तुत भएका कुमालाई साथ दिने कलाकारहरूमा शरद देउला, रोशन बज्राचार्य, सुमन गैडा, प्रबिन लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसु रहेका थिए। उनीहरूको संगतले संगीतलाई अझ प्रभावशाली बनायो।
कार्यक्रमको सुरुआतमा डान्सर ममता राना मगर र दोहोरी गायक मोहन खड्काले, तथा दुबईमै सक्रिय कन्दरा ब्याण्डले पनि जमेको प्रस्तुति दिएर दर्शकको उर्जा उच्च बनाए।

प्रस्तुति बीचमा कुमा सागरले भावुक हुँदै भने, “दुबईको यो चर्को गर्मी हामीलाई केही दिनमै थकित बनायो, तर यहाँ वर्षौंदेखि पसिना बगाइरहनुभएका नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई म मेरो सम्मान अर्पण गर्न चाहन्छु।” साथै उनले नेवा संस्कृति र संगीतको पुनर्जागरणमा आफू र आफ्नो समूहले संगीतमार्फत योगदान गरिरहेको पुनः स्मरण गराए।
कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले यस वर्षको संस्करण अघिल्लाभन्दा अझ भव्य र सफल रहेको जानकारी दिँदै सबैलाई आभार व्यक्त गरे। सहसंयोजक अनिल गुरुङले नेपाली समुदायको अपार साथले आफूहरूलाई थप प्रेरित बनाएको बताए।

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूएई अध्यक्ष विकास शाही, आईसीसी उपाध्यक्ष मनोज गोर्खाली, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
दुबईमा नेपाली संगीतको यस्तो माहौलले प्रष्ट देखाएको छ—देश छाडे पनि देशको धुन र माया मनमा गुञ्जिरहन्छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            