करातेकी एरिका र फुटबलकी अञ्जना नगदसहित सम्मानित

एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगरलाई मंगलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मान गरिएको छ।

इनर ह्विल क्लब मध्यपुरले आयोजना गरेको कार्यक्रममा एरिका र अञ्जनालाई २५ हजार रुपैयाँ नगद, सम्मानपत्र र डा. सृष्टी उत्कृष्ट महिला खेलाडी अवार्ड प्रदान गरिएको हो। एरिका गुरुङले कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण, साथै एसियन च्याम्पियनसिपमा रजत पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरव दिलाएकी हुन्।

त्यस्तै, अञ्जना राना मगर नेपाली महिला फुटबल टोलीकी भरपर्दो गोलकिपरको रूपमा चिनिन्छिन्, जसले थुप्रै निर्णायक खेलमा टोलीलाई जित दिलाउने प्रदर्शन गरेकी छिन्। क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ प्रजापतीले सम्मान समारोहमा भनिन्, “खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु गौरवको कुरा हो।” उनले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय महिला खेलाडीलाई सम्मानित गर्दै लैजाने प्रतिबद्धता जनाइन्।

सम्मानित खेलाडीहरू दुवैले निजी तहबाट हुने यस्तो सम्मानले थप प्रेरणा मिल्ने भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए। एरिका र अञ्जनाले यस्तो प्रोत्साहनले आफूहरूलाई देशका लागि अझ समर्पित भएर उत्कृष्ट प्रदर्शन गर्न ऊर्जा मिल्ने उल्लेख गरे।