लगानीमैत्री नीति भए पनि नकारात्मक प्रवृत्तिले वातावरण धमिल्याएको व्यवसायीको भनाइ

नेपालको लगानी र औद्योगिक विकासको अवस्थाबारे व्यवसायीहरूबीच मिश्रित धारणा देखिएको छ। नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले आफ्ना धारणा राख्दै नीतिगत सुधार भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जालमार्फत नकारात्मक हल्ला फैलिएको भन्दै त्यसले लगानीकर्तालाई निरुत्साहित गरिरहेको बताए। उनले भने, “नेपालको कानुन, बजेट र मौद्रिक नीति निजी क्षेत्रमैत्री छन्। यसले थप लगानी भित्र्याउन मद्दत गर्नेछ। यस्ता नकारात्मक प्रवृत्ति सच्याउनुपर्छ।”

विकास बैंक संघका अध्यक्ष सुयोग श्रेष्ठले स्थानीय तहले लगानी प्रवर्द्धनमा सहकार्य नगरेको गुनासो गरे। “राष्ट्रिय अर्थतन्त्र रेमिट्यान्समा मात्रै भर पर्नु गलत हो,” उनले भने, “लगानी मैत्री वातावरण बनाउन स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ।”

वाणिज्य बैंक तथा वित्तीय संस्था महासंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधारको अभाव रहेको बताए। उनले विदेशबाट फर्किएका युवालाई बैंकहरूले उद्यमशिलता तथा उद्योग स्थापनाका लागि ऋण दिइरहेका भए पनि उनीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले बजेटमार्फत सकारात्मक सन्देश दिएको भन्दै त्यसले आर्थिक गतिविधिमा गति दिने बताए। उनले मौद्रिक नीति कठोर नभएको र यसले ब्याजदर घटाउन सहयोग गरेको बताए। नेपाल धितोपत्र बोर्ड (SEBON) का पूर्व कार्यकारी निर्देशक निरज गिरीले पूँजी बजारका लागि अनुकूल वातावरण बनेको तर्क गर्दै धितोपत्र बोर्ड ऐन संशोधनको आवश्यकता औंल्याए।

चार्टर्ड एकाउन्टेन्ट अनिलराज भट्टराईले विद्युत्, यातायात र वित्तीय क्षेत्रले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरे। कार्यक्रममा सहभागी व्यवसायीहरूले नीतिगत सुधारको प्रशंसा गरे पनि कार्यान्वयनमा कमजोरी, स्थानीय तहको असहयोग र सामाजिक सञ्जालमा फैलिने नकारात्मक सन्देश जस्ता विषयले लगानीमैत्री वातावरणमा असर पारिरहेको धारणा साझा गरेका थिए।