हल मालिक र फिल्मको हिरोमा टकराब : केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले नेपाली फिल्ममा हिरो टाउको खोज्ने गरेको बताएकी छन्। हिजो आइतबार पर्यटन बोर्डमा ‘फेस्टिभल फिल्म भर्सेस घरेलु बजार’ शीर्षकको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उनले हलसँगको अनुभव सुनाएकी हुन्।

चलेको महिला अनुहारलाई पनि बक्सअफिसले स्विकार्न नसकेको उनको भनाइ छ। ‘हिरोको अनुहार नहुँदा चुनौती थियो, हाम्रो फिल्म चलाउँदा पनि हिरो को छ त भन्ने खालको कुरा आयो। तर, हामीले कन्टेन्टमा जोखिम लियौँ। कोहोलपुर एक्सप्रेसमा पनि प्रियंका कार्की, रिचा शर्मा र रिमा विश्वकर्माजस्ता अभिनेत्रीहरू हुनुहुन्थ्यो। तर, यहाँ अहिले पनि हिरोकै खोजी हुन्छ,’उनले भनिन्।

निर्देशक दीपेन्द्र लामाले हलवालाले फिल्म बुझ्न नसक्दा नेपाली फिल्मले अहिलेसम्म प्रदर्शनका लागि संघर्ष गरिरहनु परेको सुनाए। फिल्म स्टार नहुँदा हलबाट शो पाउन समेत कठिन रहेको उनको ठहर छ।

‘नेपालका हल मालिक अझै पनि नेपाली फिल्मलाई बुझ्दैनन्। दयाहाङ राई, प्रदीप खड्काजस्ता चलेका अनुहार राखेको फिल्मलाई मात्रै हलले सो दिँदै आएको छ। त्यसैले चलेको अनुहार नराखी सुखै छैन’उनले भने, ‘केकीकै फिल्म पनि चल्छ भन्ने सोचेको थिएनँ। किनकी यसमा ठूला स्टार थिएनन्। अझै पनि नेपाली फिल्ममा हिरो टाउको खोजिन्छ।’

सन् २०१० मा केकीले फिल्म ‘स्वर’ बाट सिनेक्षेत्रमा डेब्यु गरेकी हुन्। अब्बल अभिनेत्रीको पहिचान बनाए पनि लामो समय केकीका फिल्महरु बक्स अफिसमा भने चल्न सकेनन्। जसकारण उनलाई ‘असफल फिल्मकी सफल कलाकार’ भनेर ट्याग लाग्ने गरेको थियो।

तर, दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ बाट उनको असफलताको शिलशिला रोकियो। किनकी त्यस फिल्मबाट केकीले पहिलोपल्ट सफलताको स्वाद चाखिन्। उनकै लगानीमा बनेको फिल्म ‘बोक्सीको घर’ ले त ट्याग नै मेटाइदियो। गतवर्ष रिलिज भएको यो फिल्म वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म घोषित भयो।

यसै विषयमा कार्यक्रममा सहजककर्ता प्रसुन संगौलाले सोधे( ‘बोक्सीको घर’ चलाउन कुन फर्मुला लगानु भयो ?

जवाफमा केकीले आफूसँग फिल्म चलाउने कुनै फर्मुला नभएको बताइन्। ‘पैसा कमाउने फिल्मको फर्मूला बोक्सीको घरबाट भेटेजस्तो त लाग्दैन। हो, मलाई बोक्सीको घरले सफलताको स्वाद चखायो। तर, त्यसअघिसम्म मलाई असफल फिल्मको सफल कलाकार भन्ने ट्याग दिइन्थ्यो,’उनले भनिन्।