बलिउड अभिनेता धर्मेन्द्र अस्पतालमा भर्ना भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ८९ वर्षीय उनी भेन्टिलेटरमा उपचाररत छन्।
धर्मेन्द्र उमेरसँग सम्बन्धित जटिलताबाट पीडित रहेको बताइएको छ।
उनका प्रशंसकले स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
स्रोतका अनुसार, धर्मेन्द्रलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो।
सुरुमा उनलाई नियमित जाँचका लागि अस्पताल लगिएको थियो।
तर उमेरसँग सम्बन्धित जटिलताका कारण उनको अवस्था बिग्रिएको छ।
आज बिहान डाक्टरहरूले धर्मेन्द्रको अवस्था बिग्रिएको बताएका छन्।
थप जोखिमबाट बच्न उनलाई तुरुन्तै आईसीयू भेन्टिलेटरमा सारिएको छ।
यद्यपि चिकित्सकले उनी निको हुँदै गएको दाबी गरेका छन्।
यसबीच उनका विषयमा अफवाह पनि फैलिएको बताइएको छ।
६० वर्षदेखि सिनेमामा सक्रिय
धर्मेन्द्रका फ्यानहरूले उनलाई मायाले ‘हि=म्यान’ भनेर सम्बोधन गर्छन्।
उनी ६ दशकदेखि हिन्दी सिनेमामा सक्रिय छन्। उनले ३०० भन्दा बढी फिल्म खेलेका छन्।
धर्मेन्द्रले १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट डेब्यु गरेका थिए।
उनले १९६० को दशकमा ‘आये मिलन की बेला’, ूफूल और पत्थर’ र ‘आये दिन बाहिर के’ जस्ता फिल्मबाट लोकप्रियता हासिल गरेका छन्।
धर्मेन्द्रले हिन्दी सिनेमामा सबैभन्दा धेरै हिट फिल्ममा अभिनय गर्ने रेकर्ड राखेका छन्।
उनले १९७३ मा आठ हिट र १९८७ मा लगातार सात हिट फिल्म दिए, जुन हिन्दी सिनेमा इतिहासमा रेकर्ड नै छ।
उनलाई २०१२ मा भारत सरकारले पद्मभूषणबाट सम्मान गरेको थियो।
