हान अध्यक्षको सुझाव: होटल क्षमता पूर्ण उपयोगका लागि नीति सुधार आवश्यक

काठमाडौँ । होटल एशोसिएन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपालका होटलहरूमा पर्याप्त लगानी भए पनि त्यसको पूर्ण उपयोग हुन नसकेको समस्या औँल्याएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलको घोषणा पत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै अध्यक्ष शाहले सांसदहरूलाई होटल र पर्यटन क्षेत्रमा प्रभावकारी नीति बनाउन अनुरोध गरे। उनले भने, “पर्यटकहरूको खर्च मिनिमम १ सय डलर र कम्तीमा २ हप्तासम्म बसाई सुनिश्चित गर्ने गरी नीति निर्माण हुनुपर्छ।”

अध्यक्ष शाहले पर्यटन र होटल नीतिहरू अहिले कर्मचारी केन्द्रित भएकाले व्यवसायीहरूलाई चुनौती परेको उल्लेख गर्दै नेपाल टुरिज्म बोर्डलाई प्राधिकरणको रूपमा सुदृढ बनाउनुपर्ने सुझाव दिए।

उनको भनाइ अनुसार, यस किसिमको सुधारले होटलहरूको क्षमता पूर्ण उपयोग हुनसक्ने र पर्यटन क्षेत्रबाट राष्ट्रिय आयमा उल्लेखनीय योगदान थप गर्न सकिने छ।