काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (चैत २२ गते) देखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गरेको हो ।
कम्पनीले आफ्नो कुल ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ ।
अब बाँकी रहेको शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि छुट्याइएको अंश सुरक्षित राखी सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ ।
यस प्राथमिक शेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरिएको यस शेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू तथा ‘मेरो शेयर’ एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
समयसीमाअनुसार, उक्त प्राथमिक शेयर छिटोमा २०८२ चैत २५ गतेसम्म खुला रहनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्न चाहने नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि यो अवसर महत्वपूर्ण मानिएको छ ।
