काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुने भएका छन्।
भदौ २३ गते भएको ‘जेन्जी आन्दोलन’का क्रममा १९ जनाको ज्यान जाने घटनासम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएका उनीहरूलाई आज रिहा गर्न लागिएको हो।
उक्त घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो।
तर महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न पर्याप्त कानुनी आधार र ठोस प्रमाण नपाइएकाले हिरासतमा राखिरहनु आवश्यक नभएको निष्कर्ष निकालिएको छ।
यसअघि सर्वोच्च अदालतले उनीहरूविरुद्ध कि मुद्दा दायर गर्न वा चैत २६ गतेभित्र रिहा गर्न आदेश दिएको थियो।
प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीच भएको पछिल्लो छलफलपछि तत्काल मुद्दा दायर नगर्ने सहमति भएको जनाइएको छ।
सोही सहमति र अदालतको समयसीमालाई आधार मानेर आजै उनीहरूलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ।
