झापा । राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले पूर्वी नाका काँकडभिट्टालगायतका भन्सार नाकामा कडाइ गर्न थालेको छ ।
सीमावर्ती क्षेत्रका बासिन्दा दैनिक उपभोग्य खाद्यवस्तु, लत्ताकपडा तथा अन्य घरायसी सामग्री खरिदका लागि भारततर्फ जाने प्रवृत्तिले स्थानीय बजार प्रभावित हुनुका साथै राज्यले राजस्व गुमाइरहेको गुनासो बढेपछि निगरानी कडाइ गरिएको हो ।
सशस्त्र प्रहरीले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायतका सीमा नाकामा भारतबाट रु १०० भन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ ।
भन्सार महसुल नबुझाई सामान ल्याएमा कानुनबमोजिम कारबाही अघि बढाइने जानकारी दिँदै सचेतनामूलक अभियान पनि सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले बताएका छन् ।
उनका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा विशेष सचेतना तथा निगरानी अभियान सञ्चालन भइरहेको छ ।
सशस्त्र प्रहरीले देशभरका सीमा नाकामा यस्तै प्रकारको निगरानी र नियन्त्रण अभियान विस्तार गर्दै अवैध आयात तथा राजस्व चुहावट रोक्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ ।
