काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता आगामी दुई दिनभित्र हुनसक्ने संकेत गरेका छन् । पछिल्लो समय अमेरिका र इरानबीच बढ्दै गएको कूटनीतिक तनावलाई कम गर्ने उद्देश्यसहित नयाँ वार्ता पहल अघि बढाइएको हो ।
अल जजिराका अनुसार पाकिस्तानको विदेश मन्त्रालयसँग सम्बन्धित स्रोतले उक्त महत्वपूर्ण वार्ताको आतिथ्यका लागि पाकिस्तानले प्रस्ताव गरेको जानकारी दिएको छ । इस्लामाबादले दुई देशबीचको संवादलाई सहज बनाउन आफ्नो भूमि उपलब्ध गराउन तयार रहेको जनाएको छ ।
यसअघि गत साता भएको वार्ता भने ठोस निष्कर्षमा पुग्न सकेको थिएन । तेहरानका अनुसार अमेरिकी प्रतिनिधिमण्डलका “अत्यधिक माग” र राजनीतिक इच्छाशक्तिको अभावका कारण छलफल सफल हुन सकेको थिएन ।
यता वासिङ्टनले भने इरान अझै पनि सम्झौताप्रति सकारात्मक रहेको दाबी गरेको छ । इरानको आणविक कार्यक्रम र प्रतिबन्धका विषयलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद समाधानका लागि यो वार्ता महत्वपूर्ण मानिएको छ ।
यदि पाकिस्तानमा प्रस्तावित वार्ता सफल भएमा यसलाई मध्यपूर्वको स्थायित्व र वैश्विक कूटनीतिमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिने अपेक्षा गरिएको छ ।
