अमेरिका–इरान वार्तामा संवादको नयाँ संकेत

काठमाडौं । अमेरिका र इरानबीच असफल बनेको पहिलो चरणको वार्तापछि पुनः संवाद सुरु हुन सक्ने संकेत देखिएको छ । पछिल्लो कूटनीतिक गतिविधिले दुई देशबीच वार्ता पुनः अघि बढ्ने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको छ । उक्त टोलीमा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि सहभागी छन् । इरान सरकारको आधिकारिक स्रोतले यस भ्रमणका तस्बिर सार्वजनिक गरेको छ ।

यो भ्रमणलाई अमेरिका–इरानबीच पुनः वार्ता गराउने मध्यस्थ प्रयासका रूपमा हेरिएको छ । यसअघि निष्कर्षविहीन बनेको वार्तापछि हाल दुवै देशबीच पाकिस्तानी मध्यस्थतामार्फत सन्देश आदान–प्रदान भइरहेको इरानले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको अन्तर्वार्तामा इरानसँग फेरि वार्ता हुन सक्ने संकेत गरेका छन् । उनले युद्ध अन्त्य नजिक पुगेको दाबी गर्दै आवश्यक परे थप कारबाही हुन सक्ने चेतावनीसमेत दिएका छन् ।

तर हर्मुज जलमार्गमा जहाज आवतजावतको विषय अझै अन्योलमा रहेको छ । क्षेत्रीय तनाव कायम रहे पनि पाकिस्तानको सक्रिय कूटनीतिक पहलले अमेरिका–इरान सम्बन्ध पुनः संवादतर्फ उन्मुख हुने संकेत देखिएको छ ।

दुई देशबीचको दुई हप्ते युद्धविरामको समय आउँदो हप्ता सकिन लागेसँगै अन्तर्राष्ट्रिय समुदायको ध्यान पुनः यस क्षेत्रतर्फ केन्द्रित भएको छ ।