एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाको खुद नाफामा गत वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो ९ महिनामा संस्थाले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा नाफा मात्र १३ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४ करोड ९५ लाख रुपैयाँ थियो । यससँगै ब्याज आम्दानीमा ७२.५ प्रतिशत वृद्धि भएको देखिएको छ । सञ्चालन नाफा १५ करोड ९० लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९५ करोड ४६ लाख रुपैयाँ रहेको छ, जुन गत वर्ष ५६ करोड ३३ लाख रुपैयाँ थियो । प्रतिशेयर आम्दानी (EPS) पनि ८.२० रुपैयाँ पुगेको छ ।

तर केही वित्तीय सूचकहरूमा चुनौती पनि देखिएको छ । खराब कर्जा (NPL) १३.५५ प्रतिशतबाट बढेर १६.५९ प्रतिशत पुगेको छ । त्यस्तै, वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसका कारण प्रतिशेयर वितरणयोग्य आम्दानी २४.८१ रुपैयाँ ऋणात्मक देखिएको छ ।

संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा संस्थाले २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल संस्थाको कुल सम्पत्तिको मूल्य २३ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । वित्तीय नतिजामा सुधार देखिए पनि खराब कर्जा र वितरणयोग्य मुनाफाको अवस्था चुनौतीपूर्ण रहेको संस्थाले जनाएको छ ।