काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग ले कोइलाको अभावका कारण आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा बन्द गरेको छ। करिब एक महिनाअघि मात्र नियमित सञ्चालनमा आएको उद्योग पुनः कच्चा पदार्थ आपूर्तिमा समस्या देखिएपछि बन्द गर्न बाध्य भएको हो।
उद्योगले आवश्यक कोइला आपूर्ति नहुँदा उत्पादन प्रक्रिया स्थगित गरिएको जनाएको छ। यसअघि उद्योगले करिब ३ हजार मेट्रिक टन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ।
उद्योगका अनुसार कोइला आपूर्ति करिब दुई साताभित्र आइपुग्ने अपेक्षा गरिएको छ। आपूर्ति प्राप्त भएपछि परीक्षण नतिजाका आधारमा मात्र पुनः उत्पादन सुरु गर्ने समय तय गरिनेछ।
उद्योगले आपूर्ति व्यवस्थापन सहज भएमा उत्पादन पुनः सुचारु गर्दै बजारमा सिमेन्ट आपूर्ति स्थिर बनाउने लक्ष्य राखेको जनाएको छ।
