१०० अर्ब डलर अर्थतन्त्र लक्ष्य, तीव्र विकासमा जोड

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलरको बनाउन सकिने बताएका छन्। अन्तर सरकारी वित्त परिषद को बैठकमा बिहीबार उनले यस्तो लक्ष्य सम्भव बनाउन ७ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्नुपर्नेमा जोड दिए।

अर्थमन्त्री वाग्लेले ७ प्रतिशतको आर्थिक वृद्धि सुनिश्चित गर्न सके मात्र देशको अर्थतन्त्र १०० अर्ब डलरको स्तरमा पुर्‍याउन सकिने बताए। उनले “१०० अर्ब डलरको अर्थतन्त्रको शान नै अर्को हुन्छ” भन्दै दीर्घकालीन आर्थिक लक्ष्यप्रति आशावादी दृष्टिकोण प्रस्तुत गरे।

उनका अनुसार ठूला आयोजना तथा पूर्वाधार निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ। सरकारले नियमित बजेट बाहिरका वैकल्पिक माध्यमबाट पनि विकास निर्माणलाई तीव्र बनाउनुपर्नेमा उनले जोड दिए।

अर्थमन्त्री वाग्लेले सरकार अब विकास प्रक्रियालाई छिटो बनाउने दिशामा अघि बढिरहेको उल्लेख गर्दै निजी क्षेत्रलाई समेत प्रमुख साझेदारका रूपमा अघि सारिने बताए।

उनले नीतिगत सुधारतर्फ संकेत गर्दै “नीतिगत कब्जाको युग समाप्त भइसकेको छ” भन्दै सबै सरोकारवालालाई समावेशी विकासमा अघि बढ्न आह्वान गरे।

सरकारको लक्ष्य उच्च आर्थिक वृद्धि, लगानी विस्तार र पूर्वाधार विकासमार्फत अर्थतन्त्रलाई नयाँ स्तरमा पुर्‍याउने रहेको उनको भनाइ थियो।