किसानको केरामा उचित मूल्यको माग

काठमाडौं । बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढ्दै जाँदा बिचौलियाको हस्तक्षेप तीव्र भएको भन्दै नेपाल केरा उत्पादक महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघले उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको र किसानले उचित मूल्य नपाएको अवस्थाले बजारमा गम्भीर असन्तुलन देखिएको जनाएको छ ।

महासंघका अनुसार हाल किसानहरूले आफ्नो बारीबाट मालभोग जातको केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँमा बिक्री गरिरहेका छन् भने हाइब्रिड जात (विलियम, जी–नाइन) ५० देखि ६० रुपैयाँमै बिक्री गर्न बाध्य छन् । तर, यही केरा बजारमा उपभोक्तासम्म पुग्दा ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ, जसले उत्पादक र उपभोक्ता दुवै पक्ष ठगिएको स्पष्ट देखिन्छ ।

महासंघले वैशाखदेखि असारसम्मको समय संक्रमणकालीन भएकाले उत्पादन केही कम देखिए पनि त्यसपछि नेपाली किसानहरू पर्याप्त मात्रामा केरा आपूर्ति गर्न सक्षम रहेको दाबी गरेको छ । साथै, देशभर केरा खेती विस्तार तीव्र रूपमा भइरहेको र ४० देखि ५० लाख बिरुवा रोपिने क्रममा रहेको जानकारी दिएको छ । सही नीति अपनाइएमा आगामी १–२ वर्षभित्र नेपाल केरामा पूर्ण आत्मनिर्भर बन्न सक्ने महासंघको विश्वास छ ।

सरकारले हालै केरा आयातमा देखाएको कडाइ तथा जैविक सुरक्षा उपायहरूलाई महासंघले स्वागत गर्दै कुनै पनि बहानामा विदेशी केराको आयात खुला नगर्न आग्रह गरेको छ । विशेषगरी ‘पानामा रोग’ को जोखिमलाई ध्यानमा राख्दै चोरी पैठारीबाट भित्रिने केराले राष्ट्रिय जैविक सुरक्षामा गम्भीर खतरा पुर्‍याउन सक्ने चेतावनी दिएको छ ।

महासंघले “किसान बलियो भए राष्ट्र बलियो हुन्छ” भन्ने मान्यतालाई आत्मसात गर्न आग्रह गर्दै किसानको समस्या बेवास्ता गरिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

यस क्षेत्रको सुधारका लागि महासंघले तत्काल प्रभावकारी बजार अनुगमन गर्न, केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको छ । साथै, कृषि बीमा प्रणालीलाई सरल र छिटो बनाउने तथा गुणस्तरीय टिसुकल्चर बिरुवाको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको छ ।