गरिमाको सेवामा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा र सूचना सुरक्षामा उत्कृष्टता कायम गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई महत्वपूर्ण आईएसओ प्रमाणपत्र हासिल गरेको छ।

बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाहका लागि आईएसओ ९००१ः२०१५ र सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको हो। यससँगै गरिमा विकास बैंक एकैपटक दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश भएको छ।

लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वव्यापी सर्टिफिकेसन संस्था “ईन्टरसर्ट” का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले गुणस्तरीय सेवा प्रवाह र सूचना प्रविधि सुरक्षामा अझ प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा सुधारलाई निरन्तरता दिने बताए।

गरिमा विकास बैंकले हाल देशभर रहेका १२६ शाखा कार्यालयमार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले सरल, सुरक्षित र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा विस्तार गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरिरहेको जनाएको छ।