डिशहोमबाट नयाँ वर्षमा डिजिटल बोनस योजना

काठमाडौं । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिशहोमले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना इन्टरनेट सर्भिस (आईएसपी) तथा डाइरेक्ट-टु-हेम (डीटीएच) सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार बढ्दो सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारलाई ध्यानमा राख्दै मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य प्रदान गर्न बोनस–आधारित योजना ल्याइएको हो। यी योजनाहरू वार्षिक रिन्यूअल बढाउने, उच्च गतिको इन्टरनेट प्रयोग प्रोत्साहन गर्ने तथा निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको बताइएको छ।

आईएसपी अन्तर्गत विद्यमान ग्राहकले वार्षिक रिन्यूअल गर्दा आकर्षक बोनस पाउनेछन्। ५० एमबीपीएस प्याकेजमा १५ दिन र १००, २०० तथा ३०० एमबीपीएस प्याकेजमा ६० दिनसम्म बोनस उपलब्ध हुनेछ। सेवा बन्द हुनुअघि १५ दिन अगाडि रिचार्ज गर्ने ग्राहकले थप ३० दिन बोनस पाउने व्यवस्था गरिएको छ। यसरी उच्च गतिको प्याकेज प्रयोग गर्ने ग्राहकले अधिकतम ९० दिनसम्म अतिरिक्त सेवा उपभोग गर्न सक्नेछन्।

त्यस्तै, ३० दिनभन्दा बढी समयदेखि सेवा बन्द भएका निष्क्रिय ग्राहकका लागि विशेष “चर्न कन्भर्सन” अफर ल्याइएको छ। यसअन्तर्गत वार्षिक प्याकेज पुनः जडान गर्दा ९० दिनसम्म बोनस प्राप्त हुनेछ। साथै, ड्रपवायर तथा रिलोकेशन शुल्क निःशुल्क गरिएको छ।

नयाँ इन्टरनेट जडान गर्ने ग्राहकका लागि २०० एमबीपीएस वा सोभन्दा माथिका वार्षिक प्याकेजमा २ महिनाको अतिरिक्त बोनस दिइनेछ। यसअनुसार ग्राहकले १२ महिनाको शुल्कमा १४ महिनासम्म सेवा उपभोग गर्न पाउनेछन्। यो योजना २०८३ वैशाख १ देखि वैशाख ३१ सम्म लागू हुनेछ।

डीटीएच सेवातर्फ वार्षिक रिचार्ज गर्ने ग्राहकले २ महिनासम्म बोनस पाउनेछन् भने प्रि-डिस्कनेक्शन अवस्थामा रिचार्ज गर्ने ग्राहकले थप १ महिना बोनससहित अधिकतम ३ महिनासम्म अतिरिक्त सेवा पाउने व्यवस्था गरिएको छ। यो सुविधा ‘इयरली मल्टी टिभी प्याकेज’ मा मात्र लागू हुनेछ।

यी सबै अफरहरू वार्षिक योजनामा मात्र लागू हुनेछन् र अनलाइन तथा अफलाइन दुवै माध्यमबाट रिचार्ज गर्न सकिनेछ। आईएसपी अफर २०८२ चैत २० देखि २०८३ वैशाख १५ सम्म र डीटीएच अफर २०८३ वैशाख १ देखि असार ३२ सम्म सञ्चालन हुनेछ।

डिशहोमले यी नयाँ योजनामार्फत ग्राहकलाई थप लाभ दिँदै डिजिटल सेवा प्रयोगलाई अझ सहज र आकर्षक बनाउने लक्ष्य लिएको जनाएको छ।