निर्जीवन बीमामा मिश्रित वृद्धि, केही कम्पनी अगाडि

  • Clock icon
    २०८३ बैशाख ११, शुक्रबार

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको चैत महिनासम्मको मासिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूको व्यवसायिक विस्तारमा मिश्रित अवस्था देखिएको छ। केही कम्पनीले आक्रामक वृद्धि हासिल गर्दा केहीको व्यवसाय भने खुम्चिएको पाइएको हो।

तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीमध्ये ७ वटा कम्पनीको बीमालेख संख्या गत वर्षको तुलनामा घटेको छ। तर समग्रमा अधिकांश कम्पनीले बीमा शुल्क (प्रिमियम) भने बढाउन सफल भएका छन्।

बीमालेख संख्याका आधारमा सबैभन्दा ठूलो गिरावट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मा देखिएको छ। यस कम्पनीको बीमालेख करिब २४ हजारले घटेर २ लाख ५ हजारमा झरेको छ। बीमा शुल्क वृद्धि पनि अन्य कम्पनीको तुलनामा न्यून मात्र रहेको देखिएको छ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी को बीमालेख संख्या पनि उल्लेख्य रूपमा घटेर १ लाख ५२ हजारबाट २३ हजारमा झरेको तथ्यांकले देखाएको छ। प्रभु इन्स्योरेन्स लगायत केही कम्पनीहरू पनि बीमालेख कायम राख्न नसकेको देखिन्छ।

व्यवसायिक विस्तारमा भने केही कम्पनीले राम्रो प्रदर्शन गरेका छन्। हिमालयन एभरेस्ट इन्स्योरेन्स ले बीमालेख संख्या करिब ४४ हजारले बढाउँदै बीमा शुल्कमा ९५ करोड ७५ लाख रुपैयाँको वृद्धि गरेको छ। यो करिब ३४ प्रतिशतको वृद्धि हो।

त्यसैगरी एनएलजी इन्स्योरेन्स ले पनि १७ हजारभन्दा बढी बीमालेख थप्दै बीमा शुल्क ८७ करोड ६१ लाख रुपैयाँले बढाएको छ, जुन ४१ प्रतिशतभन्दा बढीको वृद्धि हो।

रिटेल व्यवसायमा युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको बीमालेख संख्या करिब १ लाख ८० हजारले बढेर ३ लाख ५४ हजार पुगेको छ। बीमा शुल्क पनि ७१ करोड रुपैयाँले बढेको छ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार बीमालेख संख्याका आधारमा युनाइटेड अजोड अहिले सबैभन्दा ठूलो कम्पनी बनेको छ भने बीमा शुल्कका आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। त्यसपछि सगरमाथा लुम्बिनी, हिमालयन एभरेस्ट, सिद्धार्थ प्रिमियर र आईजीआई प्रुडेन्सियल शीर्ष पाँचमा परेका छन्।

समग्रमा, निर्जीवन बीमा क्षेत्रमा केही कम्पनीको तीव्र विस्तार र केहीको संकुचनले प्रतिस्पर्धात्मक तथा असन्तुलित वृद्धि देखिएको छ।

  • Clock icon
    २०८३ बैशाख ११, शुक्रबार