काठमाडौं । नबिल बैंक ले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा ग्राहकको गोपनीयता भंग गरेको भन्ने आरोपहरूलाई पूर्ण रूपमा आधारहीन र प्रमाणविहीन भएको बताउँदै कडा खण्डन गरेको छ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा नियोजित रूपमा गरिएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै तथ्यविहीन सूचनाले बैंकको प्रतिष्ठामा आघात पुर्याउने प्रयास भएको जनाएको छ।
बैंकले मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिक मा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु” शीर्षकको समाचारलाई उद्यृत गर्दै आफ्नो धारणा स्पष्ट पारेको छ। उक्त समाचारमा ‘अनुसन्धानरत निकायबाट प्राप्त बैंकिङ कारोबार विवरण’ भन्ने उल्लेख हुँदाहुँदै केही व्यक्तिहरूले बैंकविरुद्ध सामाजिक सञ्जालमा भ्रम फैलाएको बैंकको दाबी छ।
नबिल बैंकका अनुसार ग्राहकको गोपनीय विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया पूरा गरेका नियामक तथा अनुसन्धान निकायलाई बाहेक अन्य कुनै पनि अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई उपलब्ध गराइँदैन। बैंकले आफ्नो कोर बैंकिङ प्रणाली अत्यन्त सुरक्षित रहेको र कसले, कहिले र कुन प्रयोजनका लागि विवरण हेरेको हो भन्ने पूर्ण अभिलेख रहने स्पष्ट पारेको छ।
चार दशकभन्दा लामो अनुभव बोकेको बैंकले प्रचलित कानुन, नियमन तथा आन्तरिक सुशासनको पूर्ण पालना गर्दै आएको जनाएको छ। “बैंकिङ गोपनीयता कायम राख्नु हाम्रो नैतिकता र आधारभूत सिद्धान्त हो, यसमा कुनै पनि हालतमा सम्झौता हुँदैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, तथ्यहीन दुष्प्रचार गरी जनमानसमा भ्रम सिर्जना गर्ने व्यक्ति तथा संस्थामाथि विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी बैंकले दिएको छ।
बैंकले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै आगामी दिनमा पनि सुरक्षित, भरपर्दो र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
