नाइमा द्वारा विश्वास सुदृढ सन्देश

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा सँग सम्बन्धित पछिल्ला घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

नाइमाका बोर्ड सदस्यसमेत रहेका गोल्छासम्बन्धी विकसित परिस्थितिबारे संस्थाले औपचारिक धारणा सार्वजनिक गर्दै कुनै पनि प्रक्रिया अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई स्पष्टिकरण दिने पर्याप्त अवसर दिनुपर्ने आवश्यकता रहेको बताएको छ।

संस्थाले प्रक्रियागत स्पष्टता, सन्तुलन र उचित विवेकको प्रयोगले मात्र समग्र प्रणालीप्रतिको विश्वास बलियो हुने धारणा राखेको छ। साथै, मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना र राजस्व संकलनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यस्तो अवस्थामा राज्यले निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ।

नाइमाले उद्यमशीलताको निरन्तरताका लागि निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गर्नुपर्ने र नीतिगत रूपमा सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता औँल्याएको छ।

विधिको शासन र पारदर्शिताप्रति आफूहरू दृढ रहेको स्पष्ट पार्दै संस्थाले कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र कानुन उल्लङ्घन भएमा आवश्यक कारबाही हुनुपर्ने धारणा राखेको छ।

तर पर्याप्त प्रमाणबिना कठोर कदम चालिँदा प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भन्दै नाइमाले सम्बन्धित निकायहरूलाई संवेदनशील र जिम्मेवार ढंगले अघि बढ्न अनुरोध गरेको छ।