स्वदेश फिर्ती सुरक्षित व्यवस्थापन

काठमाडौं । पश्चिम एसियामा उत्पन्न द्वन्द्वका कारण हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएका छन्। संयुक्त राज्य अमेरिका र इरानबीचको तनावपछि सो क्षेत्रमा कामका लागि गएका नेपालीहरू ठूलो संख्यामा फर्किएको परराष्ट्र मन्त्रालय ले जनाएको छ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार फर्किएका नागरिकहरू तत्कालको परिस्थितिका कारण तथा बिदामा रहेका श्रमिकहरू हुन्। फर्किएका मध्ये करिब २१ हजार नेपाली नागरिक कतारबाट मात्र स्वदेश आएका छन्।

मन्त्रालयको मध्येएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार द्वन्द्वपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म ८७ हजार ८१९ जना नेपालीले आफ्नो अवस्थाबारे विवरण दर्ता गराएका छन्।

मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यक सहयोग तथा सुरक्षित व्यवस्थापनका लागि समन्वय जारी रहेको जनाएको छ।