काठमाडौँ । हुम्लामा बिग्रिएको फोरजी टावर मर्मतपछि पुनः सञ्चालनमा आएको छ। वैशाख १ गतेदेखि अवरुद्ध भएको सेवा करिब दुई सातापछि पुनः सुचारु भएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।
नेपाल टेलिकम अन्तर्गत सर्केगाड गाउँपालिका–६ छ्यागीस्थित भुब्रेलेखअन्तर्गत खातिलेखमा रहेको फोरजी रिपिटर टावरमा समस्या आएपछि उक्त क्षेत्रका बासिन्दा इन्टरनेट सेवाबाट वञ्चित भएका थिए।
टावरको ब्याट्री ब्याकअपमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको थियो। समस्या समाधानका लागि नेपाल टेलिकम सिमकोटबाट प्राविधिक टोली परिचालन गरिएको थियो। शनिबार प्राविधिक उब्जन शाहीको नेतृत्वमा टोली सम्बन्धित स्थानमा पुगेर मर्मत कार्य सम्पन्न गरेपछि फोरजी सेवा पुनः सञ्चालनमा आएको हो।
सेवा पुनः सञ्चालन भएसँगै खार्पुनाथ गाउँपालिका–१, २ र ३ तथा सर्केगाड गाउँपालिका–१, २, ३ र ६ मा इन्टरनेट सेवा पुनः सुचारु भएको स्थानीय जीवन छत्यालले जानकारी दिए।
स्थानीयहरूले सेवा पुनः सुरु भएपछि सञ्चार तथा इन्टरनेट प्रयोगमा सहजता आएको भन्दै खुसी व्यक्त गरेका छन्। खार्पुनाथ–१ का लालबहादुर शाहीले सेवा पुनर्स्थापनाप्रति खुशी व्यक्त गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन्।
सेवा सुचारु भएपछि दुर्गम क्षेत्रमा सञ्चार पहुँच सहज बनेको स्थानीयहरूले बताएका छन्।
