टोक्ला चियामा मजबुत आधार

काठमाडौँ । नेपाली चिया बजारमा ‘टोक्ला’ ब्राण्डमार्फत परिचित नेपाल चिया विकास निगम लिमिटेड को व्यापार पछिल्ला वर्षहरूमा उतारचढाव देखिए पनि हाल सुधारतर्फ उन्मुख भएको छ।

कम्पनीको पछिल्लो आर्थिक वर्ष २०२५ मा व्यापार १२.४३ प्रतिशतले वृद्धि भई १ अर्ब ९ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०२४ मा यो कारोबार ९७ करोड ३० लाख रुपैयाँ मात्र थियो। यसअघि २०२१ मा १ अर्ब ८ करोड ८० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको व्यापार २०२२ र २०२३ मा केही घटेको देखिन्छ।

सञ्चालन नाफामा पनि पछिल्ला वर्षहरूमा उतारचढाव देखिएको छ। सन् २०२१ मा २४.२ प्रतिशत रहेको सञ्चालन नाफा २०२३ मा ९ प्रतिशतमा झरेको थियो भने २०२५ मा सुधार भई १०.४ प्रतिशत पुगेको छ। त्यसैगरी, करपछिको खुद नाफा १९.४ प्रतिशतबाट घटेर ५.९ प्रतिशतमा सीमित भएको छ।

परिचालित पुँजीमा प्रतिफल (आरओसीई) पनि घटेर ४८ प्रतिशतबाट ११.७ प्रतिशतमा पुगेको छ, जसले लगानीबाट आम्दानी गर्ने क्षमतामा दबाब देखाएको छ। यद्यपि, कम्पनीको वित्तीय अवस्था भने बलियो देखिएको छ।

कम्पनी पूर्ण रूपमा ऋणमुक्त बनेको छ। सन् २०२१ मा ०.५ रहेको ऋण–सम्पत्ति अनुपात २०२५ मा शून्यमा झरेको छ। बाह्य दायित्व अनुपात पनि १.० बाट ०.३ मा घटेको छ। तरलता स्थिति मजबुत छ, जसअनुसार चालु अनुपात १.८ बाट बढेर ४.३ गुणा पुगेको छ। ब्याज भुक्तानी क्षमता १३.४ गुणा रहनुले कम्पनीको वित्तीय स्थायित्व मजबुत रहेको देखाउँछ।

सन् १९७४ मा सरकारी संस्थानका रूपमा स्थापना भएको यो कम्पनी सन् २००० देखि त्रिवेणी समूहको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ। हाल कम्पनीमा त्रिवेणी समूहको ६५ प्रतिशत र सरकारका विभिन्न निकायको बाँकी शेयर स्वामित्व रहेको छ।

पूर्वी नेपालका सात चिया बगानमार्फत सञ्चालन भइरहेको कम्पनीसँग १ हजार ६ सय १७ हेक्टर क्षेत्रफलमध्ये करिब १ हजार ८७ हेक्टरमा चिया खेती भइरहेको छ। आर्थिक वर्ष २०२५ मा कुल आम्दानीको करिब ८० प्रतिशत हिस्सा प्याकेज चिया बिक्रीबाट आएको छ।

कम्पनीले व्यवसाय विस्तार र पुँजीगत आवश्यकताका लागि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) ल्याउने योजना अघि सारेको छ। सबल वित्तीय सूचक, ऋणमुक्त अवस्था र स्थिर उत्पादन क्षमताका कारण कम्पनीको भविष्य सकारात्मक देखिएको निष्कर्ष विश्लेषणमा उल्लेख गरिएको छ।