काठमाडौं । मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउन अहोरात्र खटिने उद्योगी व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको पछिल्लो धरपकड र अवाञ्छित व्यवहारप्रति नरेशलाल समूहले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राज्यका जिम्मेवार निकायहरूबाट विधिको शासनको उपहास हुने गरी भइरहेका यस्ता गतिविधिले निजी क्षेत्रको मनोबल पूर्ण रूपमा कमजोर बनाएको र यसले समग्र आर्थिक वातावरणमा गम्भीर नकारात्मक असर पुर्याएको यस समूहको ठहर छ। विशेषगरी नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छा लगायतका प्रतिष्ठित उद्यमीहरूलाई बिना कुनै ठोस आधार र निष्पक्ष छानबिन अपराधी सरह नियन्त्रणमा लिइनुले राज्यको नियतमाथि नै ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ।
हाम्रो समूह स्पष्ट रूपमा के भन्न चाहन्छ भने कुनै पनि विषयमा अनुसन्धान हुनु स्वाभाविक प्रक्रिया हो, तर त्यो कानुनी मर्यादा, पारदर्शिता र व्यक्तिको मानवीय गरिमालाई सम्मान गर्दै गरिनुपर्छ। दोष प्रमाणित नहुँदै सार्वजनिक रूपमा प्रतिष्ठा हनन गर्ने, मानसिक दबाब सिर्जना गर्ने र सञ्चालनमा रहेका उद्योग व्यवसाय नै ठप्प पार्ने गरी गरिने कार्यहरू कुनै पनि दृष्टिकोणले न्यायोचित मान्न सकिँदैन। अहिलेको चुनौतीपूर्ण आर्थिक अवस्थामा सरकार र निजी क्षेत्रबीच उच्चस्तरको विश्वास, सहकार्य र सम्वाद हुनुपर्नेमा, उल्टै भय र त्रासको वातावरण सिर्जना गरिँदा यसले उद्यमशीलता र रोजगारी सिर्जनामा दीर्घकालीन क्षति पुर्याउने निश्चित छ।
देशमा नयाँ र स्थायी सरकार गठन भएसँगै आम नागरिक र लगानीकर्ताहरूमा जुन उत्साह र सकारात्मक सन्देश सञ्चार हुन लागेको थियो, यस्ता अदूरदर्शी कार्यले त्यसलाई पुनः अन्योलतर्फ धकेलिदिएको छ। लगानीको वातावरण बन्दै गरेको संवेदनशील समयमा राज्यका निकायहरूले संयमता नअपनाउँदा देशको अर्थतन्त्रले ठुलो मूल्य चुकाउनुपर्ने हुन सक्छ। तसर्थ, निजी क्षेत्रको सम्मान र सुरक्षित व्यावसायिक वातावरण बिना मुलुकको आर्थिक विकास कल्पना बाहिरको कुरा भएकाले सम्बन्धित सबै पक्षलाई संवेदनशीलताका साथ काम गर्न र व्यवसायीको मानमर्दन हुने कार्य तत्काल रोक्न नरेशलाल समूह जोडदार माग गर्दछ।
नरेशलाल श्रेष्ठ समूह