युवामा उद्यमशीलता : आर्थिक रूपान्तरणको आधार

“युवामा उद्यमशीलता” केवल आर्थिक अवधारणा मात्र होइन, यो राष्ट्र निर्माणको मूल आधार बन्न सक्ने शक्ति हो

नेपाल आज परिवर्तनको एक निर्णायक मोडमा उभिएको छ । प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र विशाल युवा जनशक्तिले भरिपूर्ण यस देशले विकासका अनगिन्ती सम्भावना बोकेको छ । तर, यिनै सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न नसक्दा नेपाल अझै पनि विकासशील राष्ट्रको श्रेणीमा सीमित छ । यस सन्दर्भमा ‘युवामा उद्यमशीलता’ केवल आर्थिक अवधारणा मात्र होइन, यो राष्ट्र निर्माणको मूल आधार बन्न सक्ने शक्ति हो । जब युवा वर्गले आफ्नो क्षमता, सिर्जनशीलता र साहसलाई उद्यमशीलतामा रूपान्तरण गर्छ, तब मात्र देशले दिगो विकासको मार्ग समात्न सक्छ ।

नेपालमा लामो समयदेखि रोजगारीको परिभाषा सीमित थियो– सरकारी जागिर वा विदेश जाने अवसर । तर, समयसँगै यो सोचमा परिवर्तन आउन थालेको छ । आजका युवा केवल जागिर खोज्ने होइन, आफैँ अवसर सिर्जना गर्ने सोचमा अघि बढिरहेका छन् । यही सोचलाई बलियो बनाउन नीतिगत समर्थन, वित्तीय पहुँच, सिप विकास र बजार विस्तार अत्यन्त आवश्यक छ । यदि राज्यले यी पक्षहरूमा प्रभावकारी काम गर्न सकेमा, युवाको ऊर्जा देशभित्रै उपयोग गर्न सकिन्छ र वैदेशिक पलायनलाई कम गर्न सकिन्छ ।

नेपालको जनसांख्यिक संरचनाले युवालाई सबैभन्दा ठुलो पुँजीका रूपमा प्रस्तुत गरेको छ । करिब ४० प्रतिशतभन्दा बढी जनसंख्या युवा वर्गमा पर्छ, जुन कुनै पनि देशका लागि ‘डेमोग्राफिक डिभिडेन्ड’ हो । तर, यही जनशक्ति बेरोजगारी, निराशा र अवसरको अभावका कारण विदेश पलायन हुन्छ भने यो पुँजी चुनौतीमा रूपान्तरण हुन्छ । आज लाखँैं नेपाली युवाहरू खाडी मुलुक, मलेसिया, कोरियालगायत देशहरूमा श्रम गरिरहेका छन् । उनीहरूले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई चलायमान बनाएको भए पनि यो दीर्घकालीन समाधान होइन । दीर्घकालीन समृद्धिका लागि उत्पादन, नवप्रवर्तन र उद्यमशीलता आवश्यक हुन्छ ।

उद्यमशीलता भन्नाले केवल व्यवसाय सञ्चालन गर्नु मात्र होइन, यो समस्यालाई अवसरमा रूपान्तरण गर्ने क्षमता हो । नेपालजस्तो विविधतायुक्त देशमा उद्यमशीलताको सम्भावना अपार छ । कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्तकला, सेवा क्षेत्र हरेक क्षेत्रमा नयाँ सोच र प्रविधिको प्रयोगबाट मूल्य सिर्जना गर्न सकिन्छ । उदाहरणका लागि, परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर उच्च उत्पादन र निर्यातमुखी व्यवसाय विकास गर्न सकिन्छ । त्यस्तै, नेपालको प्राकृतिक सौन्दर्यलाई नवीन पर्यटन अवधारणासँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सकिन्छ ।

यद्यपि, सम्भावनाहरू धेरै छन्, नेपालमा उद्यमशीलताको वर्तमान अवस्था अझै चुनौतीपूर्ण छ । साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भए पनि, तिनीहरूले पर्याप्त सहयोग पाएका छैनन् । उद्योग दर्ता प्रक्रिया, कर प्रणाली, अनुमति प्रक्रिया तथा नियामक निकायहरूसँगको समन्वय अझै पनि जटिल छ । यस्तो अवस्थाले नयाँ उद्यमीहरूलाई निरुत्साहित बनाउँछ ।

नेपालको जनसांख्यिक संरचनाले युवालाई सबैभन्दा ठूलो पूँजीको रूपमा प्रस्तुत गरेको छ, करिब ४० प्रतिशतभन्दा बढी जनसंख्या युवा वर्गमा पर्छ, जुन कुनै पनि देशका लागि “डेमोग्राफिक डिभिडेन्ड” हो

नेपाल सरकारले उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न नीति तथा कार्यक्रम ल्याएको छ । स्टार्टअप नीति, सहुलियत ऋण योजना, युवा स्वरोजगार कार्यक्रमलगायतका पहलहरू सकारात्मक भए पनि कार्यान्वयन पक्ष कमजोर देखिन्छ । नीति कागजमा राम्रो देखिए पनि व्यवहारमा पहुँच सीमित, प्रक्रिया जटिल र पारदर्शिता कमजोर हुँदा अपेक्षित परिणाम हासिल हुन सकेको छैन । त्यसैले अबको आवश्यकता भनेको नीतिको गुणस्तरभन्दा पनि यसको प्रभावकारी कार्यान्वयन हो ।

वित्तीय पहुँच उद्यमशीलताको सबैभन्दा महत्वपूर्ण आधार हो । नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक ऋण दिने व्यवस्था भए पनि युवा उद्यमीहरूका लागि यो सहज छैन । धितोको अभाव, उच्च ब्याजदर तथा जटिल प्रक्रिया प्रमुख अवरोधहरू हुन् । धेरै युवासँग राम्रो व्यावसायिक विचार भए पनि पुँजी अभावका कारण उनीहरू आफ्नो योजना कार्यान्वयन गर्न सक्दैनन् । यस समस्याको समाधानका लागि विनाधितो ऋण, भेन्चर क्यापिटल, एन्जेल इन्भेस्टमेन्ट तथा सरकारी ग्यारेन्टी कोषजस्ता प्रणालीहरू विकास गर्न आवश्यक छ । विशेषगरी महिला र युवा उद्यमीहरूका लागि लक्षित वित्तीय कार्यक्रमहरू अझ प्रभावकारी बनाउनुपर्छ ।

शिक्षा प्रणालीले पनि उद्यमशीलताको विकासमा महŒवपूर्ण भूमिका खेल्छ । नेपालमा अझै पनि शिक्षा प्रणाली ‘रोजगारीमुखी’ छ, ‘उद्यमशीलतामुखी’ होइन । विद्यार्थीलाई सिर्जनशील सोच, जोखिम व्यवस्थापन, नेतृत्व क्षमता र व्यवसाय सञ्चालनका व्यावहारिक सिप सिकाइँदैन । यदि विद्यालय र विश्वविद्यालय स्तरमै उद्यमशीलता शिक्षा समावेश गर्न सकियो भने नयाँ पुस्ता आत्मनिर्भर बन्न प्रेरित हुनेछ । उद्योग र शैक्षिक संस्थाबिच सहकार्य बढाएर इन्टर्नसिप, तालिम र अनुसन्धानलाई जोड दिनु अत्यन्त आवश्यक छ ।

डिजिटल प्रविधिले उद्यमशीलताको स्वरूप नै परिवर्तन गरिदिएको छ । नेपालमा पनि इन्टरनेट पहुँच विस्तारसँगै इ–कमर्स, डिजिटल मार्केटिङ, अनलाइन सेवा, फिनटेकजस्ता क्षेत्रहरू तीव्र रूपमा विकास हुँदै छन् । सानो लगानीबाट पनि ठुलो बजारमा पहुँच सम्भव भएको छ । ग्रामीण क्षेत्रमा बसेर पनि अन्तर्राष्ट्रिय ग्राहकसँग व्यापार गर्न सकिने अवस्था सिर्जना भएको छ । यसले विशेषगरी युवाहरूलाई नयाँ अवसर प्रदान गरेको छ । तर, डिजिटल विभाजन, प्रविधिको अभाव र सिपको कमीले अझै धेरै सम्भावना प्रयोग हुन बाँकी छन् ।

महिला उद्यमशीलता नेपालको आर्थिक रूपान्तरणका लागि अत्यन्त महŒवपूर्ण पक्ष हो । पछिल्लो समय महिलाहरू व्यवसाय क्षेत्रमा सक्रिय हुँदै गए पनि उनीहरूले अझै धेरै सामाजिक र आर्थिक अवरोधहरूको सामना गर्नुपरेको छ । वित्तीय पहुँचमा असमानता, पारिवारिक दायित्व तथा सामाजिक धारणा प्रमुख चुनौतीहरू हुन् । यदि महिलालाई समान अवसर, तालिम र वित्तीय सहयोग प्रदान गर्न सकियो भने देशको आर्थिक वृद्धि दोब्बर हुन सक्छ । महिला उद्यमशीलताको सशक्तीकरण भनेको केवल लैंगिक समानता मात्र होइन, यो समावेशी विकासको आधार हो ।

पर्यटन क्षेत्र पनि उद्यमशीलताका लागि महŒवपूर्ण अवसर हो । हिमाल, संस्कृति, सम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल विश्वकै आकर्षक गन्तव्य हो । तर, पर्यटनको पूर्ण उपयोग हुन सकेको छैन । युवा उद्यमीहरूले नयाँ अवधारणाहरू, जस्तै : एड्भेन्चर पर्यटन, होमस्टे, डिजिटल ट्राभल प्लेटफर्ममार्फत यो क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छन् । स्थानीय समुदायलाई समेटेर गरिने पर्यटन विकासले रोजगारी सिर्जना मात्र होइन, सामाजिक विकास पनि सुनिश्चित गर्छ ।

शोभा ज्ञवाली, निवर्तमान अध्यक्ष, महिला उद्यमी महासंघ नेपाल