काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपाली बैंकिङ क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार देशका २० वाणिज्य बैंकहरूले नौ महिनाको अवधिमा कुल ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँको तुलनामा १९ दशमलव ३ प्रतिशतले बढी हो। पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताका बाबजुद बैंकहरूको नाफामा आएको वृद्धि वित्तीय क्षेत्रका लागि सकारात्मक संकेत मानिएको छ।
समग्र नाफाको अवस्थाले बैंकिङ क्षेत्र बिस्तारै लयमा फर्कँदै गएको देखाए पनि सबै बैंकको प्रदर्शन समान छैन। २० मध्ये १४ बैंकको नाफा बढ्दा ६ बैंकको नाफा घटेको छ। खराब कर्जा व्यवस्थापनमा सुधार र ब्याज आम्दानीमा भएको वृद्धिले धेरै बैंकको नाफा बढाउन सहयोग पुगेको देखिन्छ। कुल नाफाको झण्डै आधा हिस्सा शीर्ष पाँच बैंकले ओगटेका छन्, जसले ठूला बैंकको वर्चस्व अझै कायम रहेको देखाउँछ।
नाफा कमाउने दौडमा नबिल बैंकले यस वर्ष पनि अग्रस्थान कायम राखेको छ। बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गर्दै ‘नम्बर एक’ स्थान सुरक्षित गरेको हो। नबिलको नाफा गत वर्षको तुलनामा ३३ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ।
दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ। यद्यपि, यसको नाफा गत वर्षको तुलनामा २ दशमलव ९३ प्रतिशतले घटेको छ।
तेस्रो स्थानमा कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गर्दै उल्लेख्य छलाङ मारेको छ। एभरेष्ट बैंक ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँसहित चौथो स्थानमा रहँदा इन्भेष्टमेण्ट मेगा बैंक ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँसहित पाँचौँ स्थानमा रहेको छ।
यस वर्ष कुमारी बैंकको नाफामा देखिएको असाधारण वृद्धि सबैभन्दा चर्चाको विषय बनेको छ। गत वर्ष चैतसम्म २८ करोड ५८ लाख २३ हजार रुपैयाँ मात्र नाफा कमाएको बैंकले यस वर्ष १३६१ दशमलव ७६ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब १७ करोड रुपैयाँ नाघेको छ, जुन बैंकिङ इतिहासमै दुर्लभ वृद्धि मानिएको छ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि १२९ दशमलव ३४ प्रतिशतले नाफा बढाउँदै २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ पुर्याएको छ। प्रतिशतका आधारमा हिमालयन बैंक (५२ दशमलव ४९ प्रतिशत), माछापुच्छ्रे बैंक (५० दशमलव ४३ प्रतिशत) र सानिमा बैंक (४२ दशमलव २२ प्रतिशत) पनि उल्लेख्य वृद्धि गर्ने बैंकका रूपमा देखिएका छन्। नेपाल बैंकले भने ० दशमलव ३४ प्रतिशतको सामान्य वृद्धि गर्दै २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ।
यता, केही बैंकहरूको नाफामा उल्लेख्य गिरावट पनि देखिएको छ। प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५४ दशमलव ६१ प्रतिशतले घटेर ८५ करोड १५ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ। इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३० दशमलव ६९ प्रतिशतले घट्दा कृषि विकास बैंकको नाफा २४ दशमलव ४२ प्रतिशतले घटेको छ। आक्रामक बजार विस्तारमा सक्रिय एनआइसी एशिया बैंकको नाफा पनि १० दशमलव ४९ प्रतिशतले घटेर १ अर्ब ४० करोड ३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ।
समग्रमा, तीव्र प्रतिस्पर्धा र बजारको अस्थिरताबीच पनि अधिकांश बैंकहरूले आफ्नो नाफा जोगाउन र बढाउन सफल भएका छन्। यसले बैंकिङ क्षेत्रमा स्थायित्वको संकेत दिनुका साथै लगानीकर्तामा नयाँ आशा जागृत गराएको छ।
