प्राइम बैंकको नाफामा सशक्त उछाल

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत विवरणअनुसार यसको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ८ करोड ९३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा २ अर्ब २२ करोड ९३ लाख ४ हजार रुपैयाँ मात्र रहेको थियो।

बैंकको आम्दानीतर्फ पनि सकारात्मक सुधार देखिएको छ। खुद ब्याज आम्दानी २ दशमलव ७१ प्रतिशतले बढेर ६ अर्ब ८४ करोड १२ लाख ४२ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ अर्ब ६६ करोड १३ लाख ८२ हजार रुपैयाँ रहेको थियो। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १२ दशमलव ७४ प्रतिशतले वृद्धि भई १ अर्ब ३७ करोड ११ लाख १६ हजार रुपैयाँ पुगेको छ।

कुल सञ्चालन आम्दानी ६ दशमलव ७० प्रतिशतले बढेर ८ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा ३१ दशमलव ५७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८९ करोड ३९ लाख ३७ हजार रुपैयाँ पुगेको छ।

विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ३० लाख ३ हजार रुपैयाँ रहेको छ, जसअनुसार वार्षिक प्रतिशेयर लाभांश क्षमता ४ रुपैयाँ ७६ पैसा देखिएको छ। बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब ३३ करोड रुपैयाँबाट घटेर १ अर्ब ५४ करोड ३७ लाख ३२ हजार रुपैयाँमा सीमित भएपछि नाफा वृद्धिमा थप सहयोग पुगेको हो।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसाले बढेर १९ रुपैयाँ ६६ पैसा पुगेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४८ पैसा कायम रहेको छ भने मूल्य आम्दानी अनुपात १२ दशमलव १५ गुणा रहेको छ। यद्यपि, खराब कर्जा अनुपात भने ५ दशमलव ६५ प्रतिशतबाट बढेर ६ दशमलव ३९ प्रतिशत पुगेको छ, जसलाई बैंकले व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

हाल १९ अर्ब ४० करोड २५ लाख ७१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब १६ करोड ३२ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ।

कारोबार विस्तारका दृष्टिले बैंकले चैत मसान्तसम्म २ खर्ब ७१ अर्ब ३१ करोड ४३ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब २२ करोड ६८ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।