नबिल बैंकको नाफामा ऐतिहासिक उचाइ

काठमाडौँ । निजी क्षेत्रको अग्रणी नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेख्य वृद्धि भएको छ।

समीक्षा अवधिमा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड १ लाख ४१ हजार रुपैयाँ रहेको थियो।

आम्दानीतर्फ पनि बैंकले सशक्त सुधार देखाएको छ। खुद ब्याज आम्दानी ३ दशमलव ३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो आम्दानी १२ अर्ब ५ करोड ४४ लाख २५ हजार रुपैयाँ थियो।

त्यसैगरी, खुद फि तथा कमिसन आम्दानी १७ दशमलव ४१ प्रतिशतले वृद्धि भई २ अर्ब ७० करोड ८९ लाख ८९ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ६ दशमलव ०८ प्रतिशतले बढेर १६ अर्ब २२ करोड ९९ लाख ८३ हजार रुपैयाँ पुगेको छ।

सञ्चालन मुनाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा २६ दशमलव ०९ प्रतिशतले बढेर ९ अर्ब ६१ करोड ६ लाख २९ हजार रुपैयाँ पुगेको छ।

विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३७ करोड ३६ लाख १७ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ १६ पैसा कायम भएको छ। इम्पेयरमेन्ट चार्ज ४७ करोड ८७ लाख रुपैयाँबाट बढेर ५२ करोड ७६ लाख ६ हजार रुपैयाँ पुगेको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि उल्लेखनीय सुधार आएको छ। समीक्षा अवधिमा ईपीएस ७ रुपैयाँ ९७ पैसाले बढेर ३३ रुपैयाँ ०२ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६ दशमलव ०५ गुणा कायम भएको छ।

हाल ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३४ अर्ब ४० करोड २ लाख २९ हजार रुपैयाँ सञ्चित छ।

कारोबार विस्तारतर्फ बैंकले चैत मसान्तसम्म ५ खर्ब ७८ अर्ब ३४ करोड ५७ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गर्दै ४ खर्ब ४७ अर्ब ९४ करोड २२ लाख २ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यद्यपि, बैंकको खराब कर्जा अनुपात ३ दशमलव ९७ प्रतिशतबाट बढेर ४ दशमलव ३७ प्रतिशत पुगेको छ, जसलाई आगामी दिनमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ।