काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म लक्ष्मी सनराइज बैंक लिमिटेडले उल्लेखनीय वित्तीय सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा, आम्दानी र सञ्चालन मुनाफामा सकारात्मक वृद्धि देखिएको छ।
समीक्षा अवधिमा बैंकले २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ३७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ रहेको थियो।
आम्दानीतर्फ मिश्रित अवस्था देखिएको छ। खुद ब्याज आम्दानी ० दशमलव २९ प्रतिशतले सामान्य गिरावट भई ७ अर्ब ८७ करोड ६२ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो आम्दानी ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँ रहेको थियो।
तर सञ्चालन मुनाफामा उल्लेखनीय सुधार देखिएको छ। बैंकको सञ्चालन मुनाफा २४ दशमलव ४४ प्रतिशतले बढेर २ अर्ब ९५ करोड ९ लाख १६ हजार रुपैयाँ पुगेको छ।
त्यसैगरी, खुद फि तथा कमिसन आम्दानी १३ दशमलव ४८ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड ७३ लाख ९ हजार रुपैयाँ पुगेको छ। यसले बैंकको गैर–ब्याज आम्दानीतर्फको प्रदर्शन मजबुत बनाएको छ।
नाफा वृद्धिमा मुख्य भूमिका इम्पेयरमेन्ट चार्जमा आएको ठूलो गिरावटले खेलेको देखिन्छ। यो चार्ज ३ अर्ब १ करोड रुपैयाँबाट घटेर १ अर्ब ४६ करोड १० लाख रुपैयाँमा झरेको छ।
वितरणयोग्य मुनाफा ११ करोड ४५ लाख ७१ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ९३ पैसा (वार्षिकीकरण नगरी) कायम भएको छ।
नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। ईपीएस २ रुपैयाँ १० पैसाले बढेर १० रुपैयाँ १५ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ०८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१ दशमलव २४ गुणा कायम भएको छ।
हाल २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ५८ करोड ९८ लाख ३० हजार रुपैयाँ सञ्चित छ।
कारोबार विस्तारतर्फ बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब ९६ करोड ६४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गर्दै सोही बराबरको कर्जा परिचालन गरेको छ।
बैंकको खराब कर्जा अनुपात १ दशमलव ३९ प्रतिशतमा स्थिर रहेको छ, जसले सम्पत्ति गुणस्तरमा स्थायित्व देखाएको छ।
