काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले उल्लेखनीय वित्तीय सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा, आम्दानी र केही सूचकमा सकारात्मक वृद्धि देखिएको छ।
समीक्षा अवधिमा बैंकले ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ दशमलव ४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड ४ लाख ८ हजार रुपैयाँ मात्र रहेको थियो।
आम्दानीतर्फ बैंकले सुधार देखाएको छ। खुद ब्याज आम्दानी ४ दशमलव ७२ प्रतिशतले बढेर ७ अर्ब १७ करोड २७ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब ८४ करोड ९४ लाख ८ हजार रुपैयाँ थियो। त्यसैगरी, खुद फि तथा कमिसन आम्दानी १२ दशमलव ३९ प्रतिशतले बढेर ८३ करोड ७२ लाख ४८ हजार रुपैयाँ पुगेको छ।
कुल सञ्चालन आम्दानी ८ दशमलव ५३ प्रतिशतले बढेर ८ अर्ब ३२ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको छ। यद्यपि, सञ्चालन मुनाफामा भने ठूलो गिरावट देखिएको छ। समीक्षा अवधिमा सञ्चालन मुनाफा ६९ दशमलव ६० प्रतिशतले घटेर १ अर्ब १५ करोड ६१ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ।
नाफामा दबाबको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य वृद्धि रहेको छ। यो चार्ज १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँबाट बढेर ३ अर्ब १२ करोड ५३ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १० अर्ब ४६ करोड ७९ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको छ, जुन बैंकका लागि चुनौतीपूर्ण पक्ष हो।
नाफा बढेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ४२ पैसाले बढेर ४ रुपैयाँ ५० पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४६ दशमलव ३१ गुणा कायम भएको छ।
हाल २२ अर्ब ५८ करोड १६ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब १९ करोड २ लाख रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ १० अर्ब ४६ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
कारोबार विस्तारतर्फ बैंकले चैत मसान्तसम्म ३ खर्ब ३८ अर्ब १८ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब ३१ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
