राष्ट्रिय बाणिज्य बैंकको वित्तीय उडान, नौ महिनामै नाफा २ अर्ब ७६ करोड पुग्यो

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा उल्लेखनीय वित्तीय प्रगति गर्दै नाफामा ऐतिहासिक वृद्धि हासिल गरेको छ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २० करोड ४३ लाख ७० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।

नाफा वृद्धिको मुख्य आधार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको उल्लेखनीय सुधार रहेको बैंकले जनाएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २२.५७ प्रतिशतले बढ्दै ८ अर्ब ७० करोड ८७ लाख ३९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन मुनाफा १३१.५८ प्रतिशतले वृद्धि भई ३ अर्ब ९३ करोड ९९ लाख ९४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब ७० करोड २२ लाख रुपैयाँमा सीमित थियो।

सम्पत्तिको गुणस्तरमा पनि सुधार देखिएको छ। खराब कर्जा गत वर्षको ४.६९ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झरेको छ। इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ कायम भएको छ।

प्रति शेयर आम्दानी पनि उल्लेख्य रूपमा बढेर १० रुपैयाँ २७ पैसाबाट २३ रुपैयाँ ५५ पैसा पुगेको छ। यससँगै बैंकको वित्तीय अवस्था अझ सुदृढ बन्दै गएको देखिन्छ।

लाभांश वितरण क्षमतामा समेत सुधार आएको छ। बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ६१ लाख ५७ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्ष १ अर्ब २ करोड रुपैयाँले ऋणात्मक अवस्थामा थियो।

हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३९ अर्ब ८ करोड ६७ लाख १९ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ ३५१ रुपैयाँ ९८ पैसा पुगेको छ।

व्यवसाय विस्तारतर्फ, बैंकले चैत मसान्तसम्म ५ खर्ब ९७ अर्ब ९६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २२ अर्ब ८७ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप लागत २.९७ प्रतिशत र आधार दर ४.२१ प्रतिशत रहेको छ, जसले सञ्चालन दक्षता मजबुत भएको संकेत गरेको छ।